काठमाडौंं ।
विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लब बिहीबार प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई २३–२५, २५–१८, २५–१२, २५–२१ को स्कोरमा पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो ।
प्रतियोगितामा एपीएफसहित तीन विभागीय टोली सहभागी भएकोमा नेपाल आर्मी र नेपाल प्रहरीले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । विभागीय टिमबाहेक गण्डकी प्रदेश पनि सेमिफाइनलमा स्थान बनाएको छ ।
पहिलो सेमिफाइनलमा एपीएफले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल प्रहरी र गण्डकीबीच हुनेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछन् ।








