सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको गोरुसिंगेबाट करिब ११ किलोमिटर उत्तर लागेपछि चुरे पहाडको काँखमा पथ्थरकोट र विरपुर गाउँ पुगिन्छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ मा पर्ने यी दुई सुन्दर बस्ती अर्घाखाँचीको सिमानामा पर्ने गाउँ हुन् । जुन दशकौं बढी पुराना हुन् । तर हालसम्म यी गाउँका बासिन्दाले धितमर्ने गरि पानीको उपभोग गर्न नपाएका छैनन् ।
खानेपानीको सहज पहँुच नहुनु यहाँको मुख्य समस्याको रुपमा रहँदै आएको छ । पथ्थरकोट र विरपुर गाउँका करिब ७ सय घरदुरीमा रहेका उपभोक्तालाई महेन्द्रकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पानी उललब्ध गराउँदै आएको छ । वि.स.२०४६ सालमा यस समितिको स्थापना भएको हो ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १२ मा पर्ने दरबारे डाँडाको खोचबाट आउने पानी पथ्थरकोट र विरपुरका स्थानीयले उपभोग गर्दै आएका छन् । तर उनीहरुले हाल उपलब्ध पानी आफुहरुका लागी पर्याप्त नभएको गुनासो गरेका छन् । दरबारे डाँडाको खोचमा मुख्य पानी ट्याङकी छ । जहाँबाट पानी करिब २ किमी टाढा पर्ने पथ्थरकोट विरपुर गाउँसम्म पुग्छ ।
महेन्द्रकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गिर बहादुर जिसीले उपभोक्तालाई स्वच्छ खानेपानी पिलाउने उद्देश्यका साथ अघि बढे पनि विभिन्न समस्या झेल्नु परेको बताए । खानेपानीका पाईप पहिरोले लैजाने, आगलागी हुने जस्ता समस्या बर्षेनी सामना गर्नुपरेको उनको भनाई छ । पानी ट्याङ्की अहिले नै थप व्यवस्थित गर्नु पर्ने आवश्यकता रहेको बताउँदै अध्यक्ष गिरीले भने, ‘एक घण्टा पनि निरन्तर रुपमा पानी दिन सकिएको छैन् ।’
समितिका सचिव रामप्रसाद भुसालले पछिल्लो समय प्रदेश सरकारबाट जिननियोजित रकमबाट खानेपानीका लागी आवश्यक संरचना निर्माण गर्न राहत पुगेको बताए । उनले पानी ट्याङ्की र पाईपहरु जीर्ण अवस्थामा रहेको बताए । जसले गर्दा पानी मूलतिरै फर्किने, पाईप जाम हुने, फोहर जम्मा हुने, जस्ता समस्या देखिएको उनले बताए ।
सचिव भुसालले नयाँ पाईपलाईन विस्तार गर्ने, ट्याङ्की नयाँ मोडलको बनाउने, फिल्ट जडान गर्ने जस्ता योजना रहेको सुनाए । तर हालसम्म आफ्ना योजनाहरु पुरा गर्न नगरपालिकाले आवश्यक सहयोग नगरेको उनको गुनासो छ । उनले खानेपानीको सवालमा स्थानीय सरकार गम्भिर नभएको आरोप समेत लगाए । उनले उपभोक्तालाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन आफुहरु प्रतिवद्ध रहेको बताए ।
उपभोक्ता नारायण प्रसाद भुसालले टुक्रे बजेटले खानेपानीका लागी आवश्यक संरचाना पुर्णरुपमा बन्न नसकेको बताए । उनले वनघनत्वमा वृद्धि, पानीका स्रोत सुक्दै जाने, पानी कम मात्रामा आउने, समयमा मर्मतसम्भारको अभाव, दुरी टाढा जस्ता समस्या औल्याए । यस क्षेत्रका स्थानीय पानीले काकाकुल हुने अवस्थामा रहेको दाबी गरे । वि.स.२०३६ सालदेखि बसोबास गर्दै आएका उपभोक्ता बलराम भुुसालले विगतमा पनि पानीको समस्या रहदैं आएको र हालसम्म पनि उक्त समस्या यथावत रहेको बताए ।
नियमित रुपमा पानी नआउनाले उपभोक्ताले थप समस्या झेल्नुपरेको खानेपानी समितिका पलम्बर टिकाराम बन्जाडे बताए । यता वेतनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रविलाल घिमिरेले पनि उपभोक्ताको मागअनुसार पानी उपलब्ध गराउन नसकेको स्वीकार गरे । राजनितिक दलका नेताहरुले चुनावमा पानीको समस्यालाई मुख्य मुद्धा बनाएर भोट माग्ने गरेको भएता पनि चुनाव जितिसकेपछि त्यसलाई चट्टकै बिर्सिने गरेको भन्दै कतिपयले आक्रोस समेत व्यक्त गरे ।
विकासका अन्य पुर्वाधार शिक्षा, स्वास्थ्य, विद्युत, सडक, संचारको सहज पहुँच भएका यी बस्तीमा खानेपानीको सहज पहुँच भने हालसम्म हुन सकेको छैन् ।







