हालै मन्त्रिपरिषद्बाट पारित उक्त विस्तृत योजनामा ५ वर्षमा २५ अर्बको लगानीमा संरचना निर्माण गर्ने लक्ष्य छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री चेतनारायण आचार्यले अहिले बनिरहेको मुख्यमन्त्रीको कार्यालयसहित १० मन्त्रालयको परियोजनाबाहेक अर्को आधुनिक सहर निर्माणका लागि ५ वर्षमा २५ अर्बको परियोजना तयार पारिएको बताए ।
उनले भने, ‘भित्र अहिले बनेका मन्त्रालयहरु नै रहन्छन् तर बाहिर हामीले सुन्दर सहरसहित राजधानी निर्माणका लागि लगानी गर्ने निर्णय गरेका छौं ।’ यसका लागि वार्षिक २ अर्ब रकम प्रदेश सरकारले छुट्याउने र बाँकी स्रोतका लागि संघीय सरकार तथा अन्य दाताहरूसँग पहल गर्ने उनको भनाइ छ ।
विभिन्न चरणमा गर्ने कामका लागि पहिलो चरणमा ५ वर्षभित्र २५ अर्बमा काम गरिने प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोख्रेलले रातोपाटीलाई बताए । यसमा सरकारबाट चार वटा मुख्य योजना समावेश गरिएको खुलाउँदै उनले सरकारलाई आवश्यक सबै प्रशासनिक भवन निर्माण तथा राजधानी क्षेत्रभित्रका मुख्य सडक निर्माणको योजना रहेको बताए ।
त्यस्तै, राप्ती नदीको वारिपारि कङ्क्रिट वालसहितको तटबन्ध र राप्ती वारपार जोड्ने ३ वटा पुल निर्माण गरिने उनको भनाइ छ । उनका अनुसार खानेपानी, विद्युत्, सडक विस्तारको समेत काम हुनेछ । राप्ती नदीको वारि र पारि पक्की तटबन्धसहितको ५०–५० मिटरको कालोपत्रे सडक निर्माण गरी राप्ती, गढवा, राजपुर र शीतगंगा अर्थात् राजधानी क्षेत्रको राप्ती उपत्यकालाई बृहत् सडक सञ्जालमार्फत जोडिने योजना रहेको उनले सुनाए ।