काठमाण्डाै ।
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि इतिहासकै धेरै आरोहीले अनुमति लिएका छन् । सगरमाथामा आज बुधवारसम्म चार सय ६३ जनाले आरोहण अनुमति लिएका र यो अहिलेसम्मकै धेरै रहेको पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका संयोजक युवराज खतिवडाले जानकारी दिनुभयो ।
यसअघि सबैभन्दा धेरै सन् २०१९ मा तीन सय १५ जनाले आरोहण अनुमति लिएका थिए । कोरोना महामारीका कारण प्रभावित भएको पर्यटन व्यवसाय लयमा फर्कँदै गर्दा पर्वतारोहणसम्बन्धी व्यवसायले भने इतिहासकै ‘रेकर्ड’ तोड्दै उत्साहित बनाएको खतिवडाले बताउनुभयो ।
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणको अनुमतिबापत मात्रै ६५ करोड तीन लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । अनुमति लिएकामध्ये नेपालका १२ जना र बाँकी विदेशी नागरिक हुन् ।
सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर रोयल्टी बुझाउनुपर्छ । यस्तै नेपालीले ७५ हजार रुपैयाँ रोयल्टी बुझाउनुपर्ने व्यवस्था छ ।








