गृहपृष्ठ Featured लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

रूपन्देही ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मतका लागि प्रदेशसभाको बैठक आज ११ बजे बस्दै छ ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

८ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्रबार पदवहाली गरेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् । माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले आज मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रालय भागबण्डामा छलफल सुरु हुने बताए ।

दाङको निर्वाचन क्षेत्र नं. ३ (१)बाट निर्वाचित चौधरी शुक्रबार माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

भागबण्डा नमिलेपछि उनीहरुले पनि अहिलेसम्म जिम्मेवारी पाएका छैनन् । कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि सरकार विस्तारका विषयमा छलफल सुरु हुने बताए । उनले सरकार विस्तारका लागि साना ठूला सबै दलबीचमा सहमति जुटाउनु पर्ने भएकाले केही समय लाग्न सक्ने उनले बताए ।

सम्बन्धित् समाचार