गृहपृष्ठ Featured मेयर कपको उपाधि सिद्धार्थनगरलाई

मेयर कपको उपाधि सिद्धार्थनगरलाई

बुटवल ।

प्रथम बुटवल मेयर कप २०८० टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थनगरले जितेको छ । विहिबार भएको फाईनल खेलमा लुम्बिनी साँस्कृतिक नगरपालिकालाई २ रनले पराजित गर्दै सिद्धार्थनगर नगरपालिका विजयी भएको हो ।

उपाधिसंगै सिद्धार्थनगरले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेतामा लुम्बिनी भने नगद २५ हजार, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा म्यान अफ द सिरिज सिद्धार्थनगरका विष्णु कठौरिया, बुटवलका विक्रम भुषाल बेष्ट ब्याट्सम्यान, सिद्धार्थनगरका एकलख अहमद बेष्ट बलर घोषित हुदैं पुरस्कृत भए ।

नरेश्वर खेलमैदानमा भएको निक्कै प्रतिष्पर्धात्मक फाईनल खेलमा टस जितेर सिद्धार्थनगरले ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा आठ विकेटको नोक्सानीमा १ सय ५१ रनको लक्ष्य खडा गरेको थियो । उसमा लागि अजय रसाईलीले ५५ बलमा ४६ रन, आरिफ खानले २६ बलमा ४१ रन तथा विष्णु कठौरियाले १८ बलमा २३ रनको योगदान दिएका थिए ।

लुम्बिनीका जावेद अलिले ४ ओभरमा २६ रन खर्चेर ३ तथा प्रदिप जयसवालले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । मध्यम लक्ष्य पछ्याएको लुम्बिनीका ब्याट्सम्यानहरु ६ विकेटको नोक्सानीमा १ सय ४९ रनमा समेटियो । उसका लागि अमर मिश्रले ३० बलमा ४६ रन तथा एजाजुल हकले ३० बलमा २७ रन बाहेक अन्य ब्याट्सम्यानहरु दोहोरो रन बनाउन सकेनन ।

सिद्धार्थनगरका जितमा विष्णु कठौरियाले ४ ओभरमा २५ रन दिएर ३ तथा रमेश कुर्मीले ३ ओभरमा ६ रन खर्चेर २ विकेट लिएका थिए । खेलमा विष्णु कठौरिया म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

सम्बन्धित् समाचार