वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुसहित तराई क्षेत्रमा खडेरी लम्बिँदा जनजीवन प्रभावित बनेको छ। पानी नपरेर अत्यधिक गर्मी हुँदा दैनिकी प्रभावित हुन थालेपछि स्थानीय बासिन्दा वर्षाको प्रतीक्षामा छन्। दिनभरको टन्टलापुर घाम र तातो हावाका कारण सर्वसाधारण घरबाहिर निस्कन गाह्रो परेको छ।
बाणगंगा नगरपालिका–४ का लोकमणी भुसालले यो वर्ष अत्यधिक गर्मी महसुस भएको बताए। ‘पानी नपरेरै होला यो वर्ष त असाध्य गर्मी छ’, भुसालले भने, ‘खडेरीले बाँच्नै गाह्रो पार्यो। टन्टलापुर घाम र तातो हावाले गर्दा बाहिर निस्कन सक्ने अवस्था छैन।’
अत्यधिक गर्मीका कारण मानिस शिथिल बन्न थालेका छन्। दैनिक मजदुरी गर्नुपर्ने मजदुर र किसानलाई चर्को घाम र तातो हावाले गर्दा बाहिर निस्किएर काम गर्न मुस्किल पर्न थालेको छ।
पानी नपर्दा सबैतिर सुक्खा बढेको छ। आकाशे वर्षाको भर पर्नुपर्ने चुरे क्षेत्रका बस्ती झनै उजाड देखिएका छन्।
सदरमुकाम तौलिहवाका सन्जु अहिरले गर्मीसँगै लामखुट्टे अत्यधिक लाग्दा दैनिकी कटाउन मुस्किल परिरहेको गुनासो गरे। पानी नपर्दा यो क्षेत्रमा धुलो, धुवाँको प्रदूषण बढेको छ।
यहाँका वन क्षेत्रमा लागेको डढेलो फैलिँदै गइरहेको छ। अधिकांश वनका स–साना रूखविरुवा डढेलोले सखाप भइसकेका छन्।







