चलचित्र विकास बोर्डले ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ। बोर्डले पहिलोपटक दाङमा असार १ देखि ३ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो।
बोर्डका प्रवक्ता केएल बुढाथोकीका अनुसार महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले निर्माण गरेका लामा तथा छोटा शिक्षामूलक चलचित्रहरुको प्रदर्शनी हुनेछ।
यस्तै, चलचित्र ज्ञानसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगितासमेत हुनेछ।
बालबालिकालाई चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडी बढाउने, चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा संचालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सवहरुमा उनीहरुले बनाएका चलचित्र सहभागी गराउने उद्देश्यले राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको बोर्डले जनाएको छ।








