कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ शिव गढीको भक्रम खोलामा ठेकेदारले जेसिबी लगाएर नदीजन्य पदार्थको अनियन्त्रित दोहन गरेका छन्।
ठेक्का लागे देखि राधारोशन निर्माण सेवाले अनियन्त्रित दोहन गर्दै आएकाे छ। जेठ ३२ गते ठेक्काको अवधि सकिने भएकाले ठेकेदार कम्पनीले अनियन्त्रित दोहनलाई झनै तीव्रता दिएकाे देखिन्छ। व्यापक जन गुनासो बढे पछि मेयर अजय थापाले खोलाको अनुगमन गर्ने क्रममा अनियन्त्रित दोहन भइरहेकाे फेला पारेको बताए।
सुरक्षाकर्मी सहितको टोलीले आइतबार बिहान अनुगमनका क्रममा २ जेसिबीले खोलाको उत्खनन गरिरहेको अवस्थामा फेला पारेको मेयर थापाले सुनाए। लु १ क ३३५३ र लु १ क ४७७८ नम्बरको जेसिबीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको उनकाे भनाइ छ।
शिवराज नगरपालिकाले गत मंसिरदेखी खोलाबाट ढुंगा, गिटी र बालुवा निकासी खुला गरेको थियो । खोलाबाट हुने ढुंगा र गिटीको अबैध चोरी निकासी भए नभएबारे बुझ्न अनुगमन गरिएको नगरप्रमुख थापाले बताए । भक्रम खोलाबाट ढुंगा, गिटी बोक्ने ट्रयाक्टर एवं टिपरले राजस्व तिरे/नतिरेको, खोलाको गहिराइ र मापदण्डअनुसार उत्खनन भए/नभएबारे अनुगमन गरिएको बताए ।
२०७९ महिना मंसिर २७ गते पालिकाले सूचना प्रकाशित गरि पच्चिस लाख एकाउन्न हजार एक सय एकाउन्नमा मुल्य अभिवृद्धि कर सहित नदिजन्य पदार्थ बिक्रीको ठेक्का लगाएको थियो। भक्रम खोला वाट ८०८५.६० घन मिटर नदीजन्य पर्दाथ विक्री गर्न अनुमती सहित श्री राधारोशन निर्माण सेवाका प्रवन्धक रोजन बहादुर एम सि बिच ठेक्का भई संचालनमा आएको नगरपालिकाले जनाएको छ।








