बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुका लागि ८० वटा पोखरीमा पानीको व्यवस्था गरिएको छ। अत्यधिक गर्मी बढेसँगै पोखरीको पानी सुक्न थालेपछि तराई भू–परिधि कार्यक्रम नेपाल (ताल)को आर्थिक सहयोगमा बाँके राष्ट्रिय निकुञ्जले पोखरीमा पानीको व्यवस्था गरेको हो।
पोखरीको पानी सुक्न नदिन डिप बोरिङ र हेन्डपम्पको व्यवस्था गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए। उनले प्राकृतिक र मानव निर्मित पोखरीको संरक्षण गरी वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरिएको बताए।
निकुञ्जभित्र विद्युतको व्यवस्था नभएकाले सोलार सिस्टमको सहयोगमा हेन्डपम्पको पानी पोखरीमा ल्याउने व्यवस्था मिलाइएको उनले बताए । प्राकृतिक पोखरीमा पानी सुक्न नदिन विभिन्न ठाउँमा हेन्डपम्म जडान गरिको उनको भनाइ छ।








