गृहपृष्ठ Featured इन्टर शीर्ष चारमा सुनिश्चित

इन्टर शीर्ष चारमा सुनिश्चित

काठमाडौं ।

पहिलो चार मिनेट भित्रै दुई गोल गर्न सफल इन्टर मिलानले शनिबार राति घरेलु मैदानमा एटलान्टामाथि ३–२ को विजय हासिल गरेको छ । यस जितसँगै इन्टरले इटालियन सिरी ‘ए’को शीर्ष चारमा स्थान पक्का गरेको छ ।

जितपछि सिमोनी इन्जाघीको इन्टरले ६९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । जुन पाँचौँ स्थानको एटलान्टाभन्दा आठ अंकले अगाडि हो । इन्टर र एटलान्टा दुबैले लिगमा अब एक खेलमात्र खेल्न बाँकी छ ।

६८ अंकसहित तेस्रो स्थानमा रहेको लाजियोले आइतबार राति क्रेमोनेजविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यस्तै ६४ अंकसहित चौथो स्थानमा रहेको एसी मिलानले युभेन्टसविरुद्ध प्रतिस्पर्धा गर्नेछ । युभेन्टसले १० अंक कटौतीको कारवाही भोगेपछि ५९ अंकका साथ सातौँ स्थानमा झरेको छ ।

गएराति इन्टरले घरेलु मैदानमा रोमेलु लुकाकुको गोलबाट ३९ सेकेन्डमै अग्रता लिएको थियो । निकोलो बरेलाले तेस्रो मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए । ३६औँ मिनेटमा एटलान्टाका मारियो पासालिकले गोल गर्दै अन्तर कम गरे । ७७औँ मिनेटमा इन्टरका लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अन्तर पुनः बढाए । इन्जुरी समयमा आन्द्रे ओनानाको आत्मघाती गोलमा एटलान्टाले अन्तर कम गरे पनि पुनरागमनका लागि धेरै ढिला भैसकेको थियो ।

जितपछि प्रशिक्षक इन्जाघीले खेलाडीको प्रशंसा गरे ।

सम्बन्धित् समाचार