भैरहवा ।
उद्योगी व्यवसायीको व्यापक दवावपछि सीमापारी बजार गर्न जाने उपभोक्ताका लागि भन्सार नाकामा कडाई गर्न थालिएको छ ।
भारतीय बजारमा किनमेल गर्न जाने उपभोक्ताका लागि भन्सार तिरेर मात्रै सामान नेपाल भित्र्याउन दिइएको छ । भन्सार पास नगरी सामान नेपाल भित्र्याउँदा स्वदेशी बजार प्रभावित भएको र उपभोक्ताहरु दिनहुँ सुनौलीमा बजार गर्न जाने क्रम बढेपछि प्रशासनले उपभोक्तालाई नाकामा लाइन लगाएरै भन्सार तिराउने व्यवस्था मिलाएको हो ।
घरायशी प्रयोजनका लागि भन्दै दैनिक हजारौं नेपाली उपभोक्ता सीमा पारीको सुनौली, नौतनवा बजारमा किनमेल गर्न जाने गरेका छन् । उनीहरूले बिनाभन्सार मालसामान नेपाल भित्र्याउँदा स्वदेशी बजार प्रभावित भएपछि सीमा नाकामा कडाइ गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिकले सीमावर्ती बजारबाट किनमेल गरी सामान लिएर फर्केका सबै उपभोक्तालाई लाइन लगाएर भन्सार कार्यालयमा ल्याइ भन्सार तिर्ने वातावरण तयार गरिएको बताए । घरायशी प्रयोजनका नाममा दैनिक हजारौं नेपाली उपभोक्ता सीमापारी पुग्न थालेपछि स्थानीय स्वदेशी बजार ग्राहकको अभावले सुनसान हुँदै जान थालेका छन् ।
घरायशी प्रयोजनका नाममा बिनाभन्सार भित्रिएका कतिपय सामानको व्यावसायिक कारोबार समेत हुन थालेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।
भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले सीमावर्ती भारतीय बजारमा किनमेल गरेर नेपाल ल्याइएका सम्पूर्ण मालसामानलाई भन्सारको यात्रु शाखा हुँदै महशुल तिराएर मात्रै छाड्न थालिएको बताए ।








