रुपन्देही ।
रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया-भैरहवा-काठमाडौं व्यावसायिक उडान गर्ने निश्चित भएको छ ।
मङ्गलवार बिहान साढे ७ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी मलेसियाको राजधानी क्वालाम्पुरबाट भैरहवा अवतरण भई काठमाडौं जाने भएको छ ।
०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको करिब ४० अर्ब रुपैयाँ लगानीमा बनेको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि यहाँ व्यावसायिक उडान गर्नेमा कुवेतको जजिरा एयरलायन्स मात्रै थियो ।
जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुबै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।
यसैबीच भैरहवामा व्यावसायिक उडान गर्न राष्ट्रिय ध्वजावाहक निगम पुगेको छ । यसले यात्रुको चाप वृद्धि भए नियमित उडानलाई निरन्तरता दिने भनेको छ ।
भैरहवा विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार, निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौंका लागि गर्ने उडानलाई ‘टर्न–अराउड’ उडान भनिन्छ । यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किहाल्छ गर्छ । त्यहाँबाट यात्रु राख्न पनि पाइँदैन । साथै चालकदलका सदस्यहरू पनि हेरफेर हुँदैनन् । न त इन्धन नै भरिन्छ ।
निगमका अध्यक्ष युवराज अधिकारीले भैहरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सय हाराहारी यात्रु मलेसियाबाट नेपाल आउने र तीमध्ये मलेसियाका पर्यटन व्यवसायीहरूसहित ८.१० जना भैरहवामा अवतरण गर्ने र बाँकी काठमाडौं ओर्लने बताए ।
निगमले गरेको पहिलो भैरहवा उडानमा निम्त्याइएका मलेसियाका पर्यटन व्यवसायीहरू भने भैरहवामा अवतरण भएपछि लुम्बिनी भ्रमण गरी काठमाडौं आएर मलेसिया फर्किने छन् ।








