गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगाका पशुपालक किसानलाई अनुदानमा च्यापकटर मेशिन प्रदान

बाणगंगाका पशुपालक किसानलाई अनुदानमा च्यापकटर मेशिन प्रदान

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले पशुपालक किसानलाई विद्युतिय च्याफकटर (घाँस,पराल काट्ने मेसिन) प्रदान गरेको छ । सोमबार नगरपालिकाले ७० प्रतिशत अनुदानमा २० जना पशुपालक किसानलाई विद्युतिय च्याफकटर प्रदान गरेको हो । मेसिन हस्तान्त्रण गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले नगरपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित आफुहरुले काम गरिरहेको बताए ।

उनले मेसिनको प्रयोगले व्यवसायिक किसानहरुलाई पशुपालनमा सहजता ल्याउने र उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे । नगर प्रमुख अर्यालले कृषि उपकरणले लागत घट्ने र उत्पादन बढ्ने हुँदा किसानहरुले प्रत्यक्ष फाईदा लिन सक्ने बताए । नगरले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको दाबी गर्दै उनले भने, ‘कृषि उत्पादन बढाउँदै नगरपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने योजना छ । जसका लागी बर्षेनी लाखौं लगानी गरेका छौं ।’

लगानी अनुसारको प्रतिफल दिन नसके सो लगानीको कुनै अर्थ नहुने उनको भनाई छ । नगरप्रमुख अर्यालले व्यवसायीक कृषकलाई प्रोत्साहित गर्न विगतदेखि नै नगरपालिका प्रतिवद्ध रहेको र आगामी दिनमा थप यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने बताए ।

पशुसेवा शाखा प्रमुख राजकुमार तिवारीका अनुसार नगरपालिकाले मेशिनका लागी खुलाएको सुचनाका आधारमा ३६ वटा आवेदन परेको र त्यसमध्ये मापदण्ड पुरा गरेका २० जना किसानलाई छनोट गरि मेशिन प्रदान गरिएको हो । शाखा प्रमुख तिवारीले व्यवसायीक पशुपालनलाई सहयोग गर्दै किसानलाई प्रोत्साहन गर्न मेशिन प्रदान गरिएको बताए । जसले दुध उत्पादन वृद्धि ल्याउने उनको विश्वास छ । बाणगंगा नगरपालिकाले किसानको सेवामा समर्पित भएर काम गरिरहेको उनले दाबी गरे । अनुदानमा मेशिन पाए किसानहरुले खुशि व्यक्त गर्दै अब थप समयको बचत हुने र उत्पादन बढाउन मद्दत पुग्ने बताएका छन् ।

३४ हजार ८ सय १५ रुपैयाँ मूल्यमा खरिद गरिएका ति मेशिन ७० प्रतिशत नगरको अनुदानमा किसानलाई हस्तान्तरण गरिएको हो ।

बाणगंगा नगरपालिकाले हरेक आर्थिक बर्षमा पशु विकास शाखाका लागी मात्रै ८० लाखदेखि एक करोड २० लाखसम्म विनियोजन गर्दै आएको छ ।

सम्बन्धित् समाचार