गृहपृष्ठ Featured साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित

भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३-१ ले पराजित भएको  हो ।

बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको खेलमा कुवेतलाई जिताउन मोहम्मद अब्दुल्लाहले एक गोल र एक असिस्ट गरे । खालिद हाजिएह र शबईब अलखल्दीले पनि गोल गरे । नेपालका लागि अन्जन विष्टले एक गोल फर्काए ।

पहिलो हाफमा नेपालले आफ्नै गल्तीमा गोल खाँदा खेलमा फर्कन कठिन भएको थियो । कुवेतले पहिलो हाफमा नेपालमाथि दबाब राख्दै दुई गोल गर्‍यो ।

२३ मिनेटमा कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ३६ मिनेटमा कुवेतले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।

कुवेतका फवाज अलोतावीको पासमा मोहम्मद अब्दुल्लाहको हेड प्रहार बारमा लागेर फर्कँदा अग्रता बढाउने अवसर गुमायो ।

अधिकांश समय नेपालको हाफमा बल खेलाएको कुवेतले ४१औं मिनेटमा दोस्रो गोल गर्‍यो । मोहम्मद अब्दुल्लाहको पासमा शबईब अलखल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए ।

यो गोलमा कुवेतले उत्कृष्ट खेल कला देखाएको थियो ।

अथ्बी सालेशले थ्रो बलमा उपलब्ध गराएको बलमा मोहम्मद अब्दुल्लाहको पासमा अलखल्दीले पेनाल्टी बक्समा विमल पाण्डेलाई छलाउँदै गोल गर्दा कप्तान किरणले रोक्ने कुनै अवसर पाएनन् ।

सम्बन्धित् समाचार