बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका क्रममा मंगलवार चीनको राजधानी बेइजिङ आइपुगेका छन् ।
चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुई र चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले स्वागत गरेका थिए ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले नेपाली दूतावासको विच्याट एकाउन्टको पनि उद्घाटन गरेका बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
बेइजिङ उत्रेपछि प्रधानमन्त्री ओली यहाँस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भए ।
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी छन् ।