"अन्जान"का तीन गजल पहिलो राख्न पनि कति अफ्ठ्यारो ठाँउमा राखिदियो.. नियतिले यो जिन्दगीलाई दाउमा राखिदियो।। को संग गुनासो गर्नु के दुखेसो पोख्नु र खै.. आफन्तै आएर नुनचुक घाउमा राखिदियो।। सम्मान गर्यो या अपमान सोच्नै सकिएन.. ल्याएर शिरको टोपी पाउमा राखिदियो ।। सफल होला या बिफल साहस कि अहमता.. माझीले दुईखुट्टा दुईटा नाउमा राखिदियो।। सबैकुराको खरिद बिक्री चलिरहेकै बेला.. एक गरीबले शरीर नै सस्तो भाउमा राखिदियो!! दोस्रो के कानै पो गरेँ भन्छ बन्दुक बनाएर.. आएका छन साहु कृर्ते तमसुक बनाएर।। बैशाखी पठाएछ उपहारमा सर्कारले.. आन्दोलनमा दुबै खुट्टा नाजुक बनाएर।। तथानाम भन्छ पहिला मौका हेरी हेरी.. सान्त्वना दिन्छ पछि भावुक बनाएर।। सित्तैमा पाए देखी भुटुवा मगाउँछ .. घर बस्छे श्रीमतीले गुन्द्रुक बनाएर।। बेरोजगारको प्रमाणपत्र राहदानी पाएपछी फर्के लाखौ युवाहरु बाहिरी मुलुक बनाएर। तेस्रो भेटिन्छन् गद्दारहरु भेटिन्छन् सज्जनहरु भेटिन्छन् .. यात्रामा कैलेकाँही भुल्नै नसक्ने मनहरु भेटिन्छन् ।। वस्तु पुरानो हुन सक्छ महत्व पुरानो हुदैन कदापी.. जीन्दगीको तस्वीर हेर्दा रमाईला बच्पनहरु भेटिन्छन् ।। एक दशकको द्वन्दले कुन परिवर्तन ल्यायो थाहाछैन.. खोल्सा खाल्सीमा अचेल गाडिएका गर्धनहरु भेटिन्छन् ।। विमानबाट लुम्बिनी र पोखरा हेरेर फर्कियौ सरकार.. फुर्सदमा कर्णाली जाऊ वास्तबिक जीवनहरु भेटिन्छन् ।। मागी विवाहलाई हो सर्वथोक जुराउनु र मिलाउनु पर्ने.. प्रेम विवाहलाई त बाह्रै महिना लगनहरु भेटिन्छन् । तिलक भट्टराई "अन्जान" सुनवल १२ भुमही नवलपरासी