गृहपृष्ठ खबर कपिलवस्तुको एक विद्यालयको भिडियो भाईरल भएपछि शिक्षामन्त्री: भिडियोले मन बेचैन बनायो

कपिलवस्तुको एक विद्यालयको भिडियो भाईरल भएपछि शिक्षामन्त्री: भिडियोले मन बेचैन बनायो

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोख्रेलले कपिलवस्तुको एक विद्यालयमा विद्यार्थीलाई एक शिक्षकले ओत दिँदै गरेको कारुणिक दृश्यसहितको भिडियोले मन बेचैन बनाएको बताएका छन् ।

बुधबार सामाजिक संजालमा प्रतिक्रिया जनाउदै शिक्षामन्त्री पोख्रेलले विजयनगर गाउँपालिकाको जुडपनियाँस्थित श्री रामशरण आधारभूत विद्यालयमा हावाहुरीका कारण कक्षा कोठाभित्र पानी पसेपछि विद्यार्थीलाई शिक्षकले ओत दिएको घटना सार्वजनिक भएपछि शिक्षा विकास तथा समन्वय इकाई, कपिलवस्तुको टोलीले स्थलगत अनुगमन गरेको समेत जानकारी दिएका छन् ।

स्वयंसेवक शिक्षक शम्भु बिकले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको उक्त भिडियोमा कक्षा- ३ मा अध्ययनरत बालबालिकालाई सुरक्षित राख्न एक शिक्षिकाले बेन्च प्रयोग गर्दै ओत दिइरहेको भावुक दृश्य देखिएको छ । उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो ।

शिक्षामन्त्री पोख्रेलले शिक्षकको जिम्मेवारी र मानवियताको उदाहरण प्रस्तुत भएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त दृश्यले सबैलाई भावुक बनाएको बताएका छन् ।

घटनापछि विद्यालयको भौतिक अवस्था सुधारको आवश्यकता औंल्याउँदै शिक्षामन्त्री पोख्रेलले नयाँ भवन निर्माणका लागि गाउँपालिकासँग पहल गरिएको जानकारी दिएका छन् ।

त्यसैगरी, उनले चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत विपद् व्यवस्थापनका लागि करिब ३ करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी प्राप्त भएको पनि बताएका छन् ।

स्थलगत अनुगमन टोलीले विद्यालयको अवस्था मूल्यांकन गर्दै आवश्यक सुधारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ ।

सम्बन्धित् समाचार