पैसाको ओछ्यानबाट
निरा शर्मा
गोरेटोमा भेटिएको दोबाटोले
छुट्टिनु अघि बतासको भाकामा
कानमै आएर सुटुक्क सोध्यो
ओ बटुवा साथी
सँधै मलाई छोएर हिड्छौ
कवितै मात्र गुनगुनाइरहन्छौ
कति गर्छौ माया प्रेमका कुरा ?
कति लेख्छौ जिन्दगीको पुरानै कविता ?
बरु बर्सौं हिँडी आएको बाटो
यस्सो पछाडी फर्केर हेर
र लेख एउटा यथार्थ कविता
बन्धक राखेर फूल जस्तै मुस्कान
बेचेर जून जस्तै जिन्दगी
भन कति कमायौ
सपना किन्ने हरिया डलरका बिटाहरु ?
कति रात साट्यौ
सुनको ओछ्यानसँग खुसीको निन्द्रा ?
कति पटक ढाक्यौ
थकानको च्यादरले आफ्नै लखतरान तनलाई ?
कति छाक खायौ चाँदीको थालमा
आँसुले मुछेर हिरा मोतीका सिताहरु ?
र यो पनि भन
कति गर्यौ बचत बैँकमा
पसिनाले लप्रक्क भिजेका नोट र
मुटु फुटेर बगेको रगत लतपत सिक्काहरू
अझै भन मलाई
कुन खुसीमा भत्काउँछौ
जीवन बिर्सिएर उठाएको त्यो अग्लो पहाड दुखको ?
उसो त मै पनि लडिरहेको छु
घर छोडेर दोबाटोमा
फरक यत्ति हो
यो धुलौटो माटोमा
चिल्लो सडकमा भेटिने
तिम्रोजस्तो आनन्द कसैगरी भेट्न सकिन
सियो जस्तै उसको कुरा निक्कैबेर गमेपछि
नाघेर आएको संघर्षको पहाडतिर फर्केँ र भनेँ
ओ साथी -
यहाँ पैसा फलसँगै रुखभरि फल्छ
हिमपातमा हिउँसँगै जिउभरि बर्सिन्छ
पतझडमा पातसगैँ भुइभरि खस्छ
यहाँको हावामा पैसै पैसा उड्छ धाराबाट पानी हैन पैसा पोखिन्छ
हो साथी
मैले नलगाएपनि हुन्छ
आङ ढाक्ने कपडा
मैले नपुगेपनि हुन्छ
भोक बिसाउने चौतारी
मैले बा-आमाले सपना देख्ने आँखा हेर्नु पर्दैन
आफन्तको आसाको बिन्दु हुनु पनि छैन मलाई
र मैले
साथीभाइको रहर पनि
सजिलै भुलिदिए हुन्छ
साथी,
मेरो त उहिल्यै देखि नै
खर्चको हिमाल पग्लिन छोडेर
बचत बैँकको खाता पनि सगरमाथा भैसक्यो
भन बरु
मेरा केही सुखहरु
सापटी चाहिन्थ्यो कि तिमीलाई ?