गृहपृष्ठ खबर कञ्चनपुरमा गोली चल्यो, कम्तीमा ४ जना घाइते

कञ्चनपुरमा गोली चल्यो, कम्तीमा ४ जना घाइते

प्रकाशित मिति:

कंचनपुर महेन्द्रनगर– बालिकालाई बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर कम्तीमा ४ जना घाइते भएका छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले ४ जना प्रदर्शनकारी घाइते भएको जानकारी आफूलाई आएको  जानकारी दिए । यद्यपी उनले  ट्राफिक चोकमा प्रदर्शनकारीमाथि गोली चलाएको नभई हवाइ फायर मात्रै भएको दाबी गरे ।
उनले भने, ‘ झडपका क्रममा ४ जना घाइते भएको भन्ने खबर प्रापत भएको छ । तर भीडलाई नियन्त्रणमा लिन हवाई फायर भएको हो।’  घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिकाका हत्यारा पत्ता लगाउन माग गर्दै केहि दिनयता कञ्चनपुरमा आन्दोलन चर्किएको छ ।

भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । भीमदत्तनगर र बेदकोट नगरपालिका क्षेत्रका विद्यालय र बजार प्रदर्शनकारीले बन्द गराएका छन् । स्वस्फूर्तरुपमा ठूलो सङ्ख्यामा विद्यालयका विद्यार्थीसमेत सडकमा उत्रिएका छन् ।

जिल्ला सदरमुकाम भीमदत्तनगरबाट सञ्चालन हुने यातायात सेवासमेत पूर्णरुपमा ठप्प रहेको छ । बेदकोट नगरपालिका, भीमदत्तनगरपालिका र जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शनकारीले चर्को नाराबाजी गरिरहेका छन् ।

यसैबीच आन्दोलन उग्र बन्दै गएपछि दीपायलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दको कमाण्डमा आजैदेखि प्रहरी परिचालन गरिएको छ । हत्याकाण्डको अनुसन्धान र वास्तविकताबारे चन्दले जिम्मेवारी लिने गरी खटाइएको प्रहरीका एक अधिकृतको भनाइ रहेको छ ।

प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेपनि  प्रदर्शनकारीले बास्तविक बलात्कारी अझैं पक्राउ पर्न नसकेको दाबी गर्दै आएका छन्।

सम्बन्धित् समाचार