भदौ ९
कहिले राजधानी कहिले मोफसल त कहिले परदेशमा बसेर कलम चलाएर कविता मार्फत बलियो पहिचान बनाएका कवि रमेश सायनको निबन्ध सङ्ग्रह “छुटेका अनुहार” असोज तेस्रो साता बजारमा आउने भएको छ ।
लिपि प्रकाशनले प्रकाशन गर्न लागेको सङ्ग्रहमा १९ वटा निबन्ध संग्रहित छन् । सधैँ फरक र आफ्नै पहिचान हुनुपर्छ भन्ने मान्यताका साथ समाजका मसिना कुरा टिप्न खप्पिस उनी उपन्यासको बाढी चलिरहेका बेला निबन्ध मार्फत साहित्यमा अर्को छलाङ ल्याउँदैछन्।
कहिले थारूवस्तीमा पुगेर मुसाको चटनी खाने त कहिले राराको छेउमा पुगेर क्यामेरा चलाउने कवि सायनको यस अघि २०७१ मा प्रकाशित कविता सङ्ग्रह भागेर भूगोल भरी चर्चाकै शिखरमा रह्यो । अहिले इटहरीमा आफ्नै व्यवसास गरेर बसेका सायनले २०७० मा “नाम धनिमाया थारू वर्ष चौरासी” कवितामा साताको साहित्य पुरस्कार प्राप्त गरेका थिए ।