गृहपृष्ठ कला/साहित्य मर्दको वकपत्र !

मर्दको वकपत्र !

प्रकाशित मिति:

छातीमा रौं
आवाजमा रवाफ
लाज नलाग्न छुट पाएका अंग
तिम्रो भन्दा केही बढी शरीरको बल !
बैनी..
यिनै प्रमाण जुटाएर
आज दावी गर्दैछु-
म मर्द हुँ !

आमाले तिमीलाई सिकाएको
लिंग ढोग्ने संस्कार !
बाले मलाई सिकाएको
मान्छे पिट्ने वीरता !
समाजले तिम्रो लागि
निर्माण गरेको सुनको पिंजडा !
जमानाले
मलाई गरेको जादुयी जस्टिस!
यिनै नजीर पेश गर्दै
आज दावी गर्दै छु-
म मर्द हुँ !

जब ज्यान रनक्क तात्छ
जब मगज सनक्क सन्किन्छ
जब प्रेषित प्रमाणहरूले पुग्छ,
लुलो कानुन
अन्धो सरकार

बहिरो समाजले,
म बाँचेको समय
अनि
मलाई दिइएको अधिकार प्रयोग गरी
मनलागी गर भन्छ,
म निर्धक्क बलात्कार गर्छु !
भनिहालें नि बैनी,
म मर्द हुँ !

उँखुवारीमा कलिलो योनी
क्षतविक्षत पारेर नपुगी
निर्मलाको संसार नै खोसिंदा पनि
बोलिन म !
आफ्नै घरमा अभिभावकद्वारा
निरन्तर दाह्रा गाडिएर
लाश बनेकी पूजा
बाँच्ने आसमा बोलिन् अन्तिमपटक
तर म बोलिन !
जगतका जननीहरूलाई बँचाउन
‘बलात्कारीलाई फाँसी दे’ भन्दै
मुडूलो शीर र आधा शरीर
पेटिकोटले ढाकी
चिच्याइरहिन सावित्री शिंहदरबार वरिपरी
लछार पछार पारिइन नांगो सरकार द्वारा
तैपनि म बोलिन !

खबरदार बैनी !
लाटो रैछ दाजु नभन्नु,मर्द हुँ !
मर्द हुँ, त्यसैले बोल्दिन !
हेर त इतिहास
मर्द धेरै बोल्दैनन,
मर्दका बैनी हुँदैनन,चेली हुँदैनन
दासी हुन्छन,सुसारे हुन्छन,साधन हुन्छन !

एक त्यान्द्रो आसाको धागोमा
विस्वासका केही फूल उनी
मेरो गलामा पहिर्याउने बेला,
एक चिम्टी रहरमा
समानताको रंग घोली
मेरो भाग्यमानी निधारमा टाँस्ने बेला,
कलिला सपनाहरूले
उडान भर्ने आधा आकासको
रक्षा गरिदेला भनी
मेरो नाडीमा धागो बेर्ने बेला
सोंच्दी हौ-
म संसारकै सुरक्षित बैनी हुँ !

तिमीलाई एउटा कुरा भनूँ ?
हर घड़ी
हर प्रहर
आँखै आँखाले
मनै मनले
म तिम्रा सखीहरूको
बलात्कार गरिरहेको हुन्छु !

म जस्तै मर्द
तयार भएका छन
तिम्रा सखीहरुको घरमा पनि !

मर्द उत्पादन गर्ने
कारखाना हो बैनी यो समाज !

यो कारखानाले काम
तिमी पेटमै हुँदा देखि सुरु गरिसकेको हुन्छ-
डाक्टरका कैंची र चिम्टा उध्याएर !

कुनै दिन
तिहारको टिका-माला

रक्षा बन्धनको डोरो,
घटनास्थलमा भेटिए
आश्चर्य नमान्नु बैनी !

…म त्यतीबेला पनि बोल्ने छैन !

✍️ हेमन्त गिरी, टोकियो
नोटः- यो कविता उहाँकै फेसबुकबाट लिएका हौं ।

सम्बन्धित् समाचार