गृहपृष्ठ कला/साहित्य कविता –  उनी अचेल आमा भएका छन् 

कविता –  उनी अचेल आमा भएका छन् 

प्रकाशित मिति:
कविता   -  उनी अचेल आमा भएका छन् 




आजकल

मसँग जत्तिकै रत्तिन जानेछ उनीसँग पनि 

यो भान्सा , यी चुल्हो अनि चुलेसी 




कसौंडीमा पानी अड्कल्न जानेछन् चामलसँग 

तरकारीमा नुन , भुटुन अनि बेसार पनि 




छिनछिन छिनछिन चुराको धुनमा 

डाडु पनियो र कराइ 

सुखका आल्हादित गुन्जन

सुनिरहन्थे उनी ढोका बाहिरबाटै

तर आज ती चुरा बज्ने हातहरु विश्राममा छन् 




उनी आफ्नो मनको परिधिबाट 

अन्तरङ्गका धुनहरु गुन्जाउँदै 

तन्मयका साथ पकाइरहन्छन् माया र सद्भावको 

जाउलो दालभात र तरकारी 

सकेसम्म मुछेर प्रेमभाव 

सकेसम्म मुछेर प्रेमराग 




छोराछोरी उनीसँगै सोध्छन् अचेल

बाबा भात पाक्यो ?

छोराछोरी उनीसँगै भन्छन् अचेल 

बाबा भोक लाग्यो 




उनी आमा भएका छन् अचेल

हो,उनी आमा भएका छन्

आमा हुनुको गर्भानुभूती

उनले पनि पक्कै गरे होलान् 

आफ्ना नानीहरुको भोक र तिर्खासँग 

नजिकिए होलान् 

आमा हुनु भनेको पाठेघर सजाउनु मात्र कहाँ हो र ? 

आमा हुनु भनेको हृदयको सत्तलबाट 

मातृत्वको अनुराग छचल्काउनु पनि हो 




नानीहरुको सँगसँगै 

मेरो पनि त आमा भएका छन् उनी 

मेरो भोक मेरो तिर्खा र मेरो दुखाइमा 

थपक्क उनी नै अनुदित हुन्छन् 

र मेटाइ दिन्छन् 

मेरा सबै भोक तिर्खा र दुखाइ

म निदाइदिन्छु सुखको नीद

म बिसाइदिन्छु दुखको पहाड उनी माथी

म आजकल

पुरापुर उनीमा आशृत भएकी छु

हाँगा काटिएको घाइते उच्छवासमा पनि

बटुलेर टुक्राटुक्रा सपनाहरू 

उनी दिन्छन् मेरो अञ्जुलीमा

हजार झिल्काहरु कविताका 

बर्सिन नदिएर निराशाको झरी




हँसाइरहन्छन् बालेर मुस्कानको दियो 

म उनकै अदम्य साहस टेकेर तङ्गृदै छु 

पलाउन थालेका छन् मुर्झाएका पालुवाहरु 

उनकै काखमा राखेर शिर

मेरो संसार रङ्गाउन थालेकी छु मैले 

त्यसैले त भन्छु उनी आमा भएका छन् अचेल 




आजकल 

मसँग जत्तिकै रत्तिन जानेछ उनीसँग पनि 

यो भान्सा यो चुल्हो अनि चुलेसी ।

--सरस्वती श्रेष्ठ सरु

सम्बन्धित् समाचार