गृहपृष्ठ राजनीति निर्मलाका बुवाआमासँगको भेटमा गृहमन्त्रीले भने– हत्यारा नजिक पुगिएको छ, छिट्टै सार्वजनिक गर्छौं

निर्मलाका बुवाआमासँगको भेटमा गृहमन्त्रीले भने– हत्यारा नजिक पुगिएको छ, छिट्टै सार्वजनिक गर्छौं

प्रकाशित मिति:

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

गृहमन्त्री थापाले निर्मलाका बुवाआमा तथा कञ्चनपुरका महिला अधिकारकर्मीसँग शुक्रबार साँझ काठमाडौंमा भएको भेटमा हत्यारा नजिक पुगिएको उल्लेख गर्दै छिट्टै सार्वजनिक गर्ने आश्वासन दिएका हुन्।

हत्यारालाई छिट्टै सार्वजनिक गरी पीडितलाई न्याय दिने आश्वासन गृहमन्त्री थापाले दिएका कञ्चनपुुरकी अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन्। उनले गृहमन्त्री थापाले पीडितलाई न्याय दिने आश्वासन दिएपछि न्याय पाउने आशा पलाएको प्रतिक्रिया दिइन्।

निर्मला पन्तका बुवाआमासहितको प्रतिनिधिमण्डलसँग छलफल गर्दै गृहमन्त्री रामबहादुर थापा। तस्बिर : अशोक घिमिरे(रासस)

हत्या गरिएकी निर्मलाका बुबा, आमा र स्थानीय अधिकारकर्मीहरुले गृहमन्त्री थापासँगको भेटमा सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समितिमा स्थानीय नागरिकका तर्फबाट एक जनाको प्रतिनिधित्व नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। नागरिक समाजलाई समेत समेटेर छानबिन समिति गठन नगरिएको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको चन्दले जानकारी दिइन्।

बलात्कारपछि हत्या गरिएकी निर्मलाका पीडित परिवारले लामो समयसम्म पनि न्याय नपाएपछि पीडित परिवार र कञ्चनपुरका अधिकारकर्मीहरु न्यायको खोजीमा केही दिनदेखि काठमाडौंमा छन्। उनीहरुले हत्यारालाई सार्वजनिक गरी कडा कारबाही नगरेसम्म काठमाडौंबाट नफर्कने चेतावनी पनि सरकारलाई दिएका छन्।

सम्बन्धित् समाचार