गृहपृष्ठ पत्रपत्रिका बाट प्रधानमन्त्री ओलीको बोलीको परिपक्वता ???

प्रधानमन्त्री ओलीको बोलीको परिपक्वता ???

प्रकाशित मिति:

वैखरी काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली कति अपरिपक्व छन् भन्ने कुरा त उनको बोलीले नै पुष्टि गरेको छ । धेरैजसो उखानटुक्का भनेर विपक्षीहरुलाई शब्दाक्रमण गर्ने ओली अहिले पार्टीको अध्यक्षमात्र हैन, देशकै प्रधानमन्त्री समेत हुन् । त्यसकारण पार्टीको अध्यक्षमात्रै रहँदा बोलिने बोलीभन्दा धेरै शक्तिशाली हुन्छ प्रधानमन्त्रीको बोली । यस्तोमा विचार पुर्याउनुपर्छ भन्ने सायद उनलाई राम्रो सँग थाहा छ ।

बोलीले कतिसम्म धोका हुन्छ भन्ने कुरा प्रधानमन्त्री ओलीलाई सम्झाइरहन आवश्यकै नै छैन । नाकाबन्दीका बेला मधेश आन्दोलनविरोधी देखाउन उनले एक दुई आन्दोलनकारी मरे पनि हुने आशयको आँपको बोटबाट १-२ वटा आँप झर्दा केही नहुने बताएका थिए । फलतः उनले लामो समय मधेश झर्ने आँट गर्न सकेनन् । ती पुरानो कुरा छोडौँ । ओलीले कम्युनिष्ट नेता पोष्टबहादुर बोगटीको चौँथो स्मृतिसभामा फेरि उनको बोली अहिले चर्चाको विषय बनेको छ। त्यो थियो ‘पार्टीमाथि हमला भए अरिंगाल जस्तै खनिनुहोस् !’ कार्यकर्तालाई उक्साउन ओकलिएको आक्रोशको ज्वाला जस्तो यो शब्दावलीले भन्न खोजेको के हो ? स्पष्ट छ, विपक्षीविरुद्ध जेजसरी हुन्छ जाइलाग्नुहोस्, हामी दुई तिहाइ शक्तिको उन्मादमा छौँ । सायद, ओलीले यही भनेका हुन् बुझिने अर्थमा ।

दुई दिनअघिको कुरा हो यो । त्योभन्दा दुई दिनअघि ओलीकै पार्टीका र ओलीसमान हैसियतका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफैँलाई ज्यादै निर्लज्ज हुने गरी लख काटेका थिए – महिला हिंसाका घटना सरकारविरुद्धकै षड्यन्त्र जस्तो देखियो । सरकार समेत आफ्नो पकडमा रहेका बखत सरकार चलाउने दलका अध्यक्षद्वयले ओकलेका शब्दावली कति घृणित र दूषित छन्, भनिरहनु परोइन । देशलाई शान्ति र समृद्धि दिलाउँछु, पाँच वर्ष सरकार चलाउँछु भनेर प्रधानमन्त्री बनेका ओलीको बोलीको परिपक्वता कति कमजोर छ भन्ने देखाउँछ । त्यस्तै प्रचण्डको उक्त घिनलाग्दो लखकटाइ उत्तिकै दुर्भाग्य छ ।

अहिले देश महिला हिंसा, बलात्कार, हत्याजस्ता सामाजिक हिंसालाई लिएर न्याय मागिरहेको छ । शनिबार देशैभर एक बालिकाको बलात्कारपछि भएको हत्याविरुद्ध अपराधीलाई सजाय माग्दै आन्दोलित भइरहेका छन् तर त्यो आन्दोलनलाई अध्यक्षद्वयले सरकार गिराउने अभ्यासका रुपमा बुझ्न थाल्नु कति जायज छ ? दुई तिहाइको त्यसमाथि पनि पाँच वर्षे म्यान्डेट पाएको भनी खोक्दै हिँड्ने स्वयं प्रधानमन्त्री आखिर देश र जनताले न्याय देऊ भन्दा खुट्टा कँपाउन थाल्नुले ओलीलाई जनताको बलियो प्रधानमन्त्री भनेर कसरी भन्न सकिएला ? कार्यकर्तालाई शूर्याउन धेरै झूटो बोल्नुभन्दा एउटामात्रै सत्य बोले पनि त्यो प्रभावकारी हुन्छ । आजको चेतनशील समाज ओली, प्रचण्डका हरकुरा गम्भीर भएर लिन्छ । अझ न्यायका लागि उठिरहेको आवाजलाई प्रतिक्रियावादीहरुले के निहुँ पाऊँ कनिका चपाऊँ गरिरहेका छन् भनी त्यससँग तौलिनु कति उचित होला ?

देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले एउटा पार्टीको मात्र प्रधानमन्त्री जस्तो गरी बोल्नु प्रधानमन्त्री पदको अपमान मात्र होइन जिम्मेवारी बोधको अभाव पनि ओलीमा देखिएको छ। अब प्रधानमन्त्री ओलीले आफ्नै बोलीले आफ्नो सरकारको आयु घटाउदै लागेको विश्लेषण शुरु हुन् थालेको छ।

केहि समय अगाडी प्रधानमन्त्री ओलीले निकै तामझामका साथ विराटनगरमा पाइपबाट ग्यास वितरण गरेको भन्दै उद्घाटन गरेका थिए, तर त्यसको १० दिन पछि पाइपबाट ग्यास आउन छोडिसकेको छ । यसलाई ओलीले ग्यास सिलिन्डरमुक्त युगको संज्ञा दिएका थिए तर स्थानीय भने अब बजारमा त्यही सिलिन्डर खोज्न जानुपर्ने अवस्था आएको छ ।
केही समयअघि राजधानीमा बिम्स्टेक सम्मेलन भएको थियो । भारतीय प्रधानमन्त्री मोदीसहित म्यान्मार, थाइल्याण्ड, भुटान, बंगलादेश, श्रीलंकासमेतका प्रधानमन्त्री÷राष्ट्रपति नेपाल आएका थिए । मोदीले बिम्स्टेक सम्मेलनमै भारतमा हुने बिम्स्टेक सैन्यअभ्यासको कुरा बोलिसकेका थिए तर प्रधानमन्त्री ओलीले भने संसदमा सिधै बिम्स्टेकमा सैन्य अभ्यासको कुरै नउठेको भनी जनप्रतिनिधिहरुलाई ढाँटेका थिए ।

आफ्नै पार्टीका नेताहरुले विरोध गरेको बहानामा ओलीले अभ्यासमा जान तम्तयार सेनालाई नजान ठाडो आदेश दिए । बल्ल बल्ल सुधारेको आफ्नो भारतसँगको व्यक्तिगत सम्बन्ध समेत यो प्रकरणले शंकास्पद स्थितिमा पुगेको छ । यस प्रकरणमा सरकारको,प्रधानमन्त्रीको कम्जोर कुटनीति उदाङ्गो भएको छ।

देशमा सुशासन कायम गर्ने प्रण गरे पनि ओली निमुखा साबित भएका छन् । आफैँले अयोग्यताको भारी बोकाएर राजीनामा गर्न लगाएका दिगम्बर झालाई पुनः दूरसञ्चार प्राधिकरणमा नियुक्ति गर्ने काम होस् कि ३३ किलो सुनकाण्डको प्रतिवेदन गोप्य राख्ने काम होस्, इतिहासकै शक्तिशाली प्रधानमन्त्री ओली निष्प्रभावी देखिएका छन् । कतिसम्म भने यातायातको सिण्डिकेट अन्त्य गराउन उल्लेख्य भूमिका खेल्नेलाई व्यवसायीको दबाब थेग्न नसकी सरुवासम्म गराउनुपर्ने बाध्यता ओली सरकारले खेपेको छ ।

सुशासनको सपना देखाउने प्रधानमन्त्री ओलीले कार्यकर्ता उक्साउने होइन, जनता रिझाउने काम गरेर सबै जनतालाई कार्यकर्ता बनाउन सक्छु भन्ने हिम्मत पाल्नुपर्छ । चिल्ला र बकम्फुसे कुरा गरेर जनताले फेरि ‘राष्ट्रवादी’ बनाइदेलान् भन्ने सोच राखेको भए अब त्यसको कुनै औचित्य छैन । पाँच वर्षभित्र कायापलट गर्छु भनेका प्रधानमन्त्री ओलीले आशा गरिएका ठूला योजनाको शिलान्यास नै गर्न भ्याएका छैनन् तर रेल चढेको र पानीजहाज चढ्ने कुरा भने हरेको दिन गर्ने गर्दछन्। प्रधानमन्त्रीको रुपमा ओलीले पाएको यो अभूतपूर्व साथ र समय दिनदिनै बर्बाद हुदै गएको महसुस आम रुपमा एक बर्ष नहुदै हुन लागेको छ।

सम्बन्धित् समाचार