गजल एक
यहाँ कसैले कसैलाई प्रेम गर्ने फुर्सत छैन
छ त केवल स्वार्थ छ, घृणा छ मोहब्बत छैन l
एउटाले जीवन फुल हो भन्यो अर्कोले काँडा
दुबैको परिभाषा फरक छ तर गलत छैन l
मैन कसरी आफू जलेर अरुलाई प्रकाश दिन्छ
त्यो ज्ञान त सबैमा छ मात्र आदत छैन l
‘छोरी एक्लै बजार गएर फर्केको’ कथा पढेँ
कथा त राम्रो छ के गर्नु हकीकत छैन l
म तिम्रो लागि ताजमहल बनाउन सक्दिन प्रिय
म संग मजदुरको हात काट्ने हिम्मत छैन l
गजल दुई
जीन्दगानी सधैँ एकनास कहाँ हुन्छ र ?
जता चाह्यो उतै बतास कहाँ हुन्छ र ?
बिहे गरे देखी हो उ झन् बिग्रिएको
हरेक मान्छे कालिदास कहाँ हुन्छ र ?
बगौँचामा पनि फुल्न सकेन एउटा फुल
सबै फुल लालीगुराँस कहाँ हुन्छ र ?
पहिला आफ्नै देश फर्कौँ अनि बाझो फोरौँ
राता रात देशको विकास कहाँ हुन्छ र ?
कहिलेकाहीँ होसमा पनि लेख्ने गर्छु गजल
सधैँ भरी छेउमा गिलास कहाँ हुन्छ र ?
गजल तीन
श्रीमती लिएर गयो बा-आमा छोडेर गयो l
उसले सुनको चक्करमा हिरा छोडेर गयो l
जो बाचुन्जेल मरिरह्यो पैसा पैसा भनेर
मरेपछि उसले पनि पैसा छोडेर गयो l
बेपत्ता भाइ सम्झेर आमा अझै रुनुहुन्छ
युद्धले नमिठो सम्झना एउटा छोडेर गयो l
गाउँमा मोटर आएको हल्ला सुनेछ बाहिर
छोराले थालमा पस्केको खाना छोडेर गयो l
हिजो जुन चिठ्ठी मैले तिमीलाई पठाएथे
त्यही चिठ्ठी घरमा कबाडिवाला छोडेर गयो l
नकुल पौडेल
रुपन्देही