गृहपृष्ठ खबर बलात्कारी र हत्यारा सार्वजनिक

बलात्कारी र हत्यारा सार्वजनिक

पत्रकार सम्मेलन भइरहँदा अर्काे कुनामा बेहाेस श्रीयाकी अामा

 

कास्की प्रहरीले श्रीया सुनारका बलात्कारी र हत्यारालाई सार्वजनिक गरेको छ।

प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी हत्यारा कुशुम पौडेललाई सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा हत्यारा पौडेलले बलात्कारपछि श्रीयाको हत्या गरेको स्वीकारेका छन्।
‘मैले रक्सी खाएर त्यो (बलात्कार र हत्या) गरेको हो’, पत्रकार सम्मेलनमा कुशुमले भने,‘पछि मैले टाउकोमा ढुंगाले हानेँ।’ प्रहरीले अपराधी सार्वजनिक गरिरहँदा छेउकै कोठामा रहेकी श्रीयाकी आमा भने अर्धचेत अवस्थामा भक्कानो हालेर रोइरहेकी थिइन्।
प्रहरीकाअनुसार ज्यामी काम गर्ने २७ वर्षीय कुशुम श्रीयाका छिमेकी हुन्। १० वर्षीया श्रीया आमासँगै पोखरा–२२, पुम्दी भुम्दीको कोदीमा रहेको मामा कृष्ण सुनारकोमा बस्ने गर्थिन्।
मजदूरी गर्ने कुशुमको घरमा श्रीमती र ८ वर्षको छोरा पनि छन्। घटनाको दिन सोमबार कुशुमले बिहान ११ बजेदेखि नै गाउँमै रहेको हेमबहादुर विकको भट्टीमा बसेर रक्सी खान सुरु गरेको थियो। कुशुमलाई प्रकाश बराललगायतले साथ दिएका थिए। उनीहरु दिनको १२ बजेतिर बाँकी भएको रक्सी बोकेर डाँडातिर उक्लिए। दिनभर सक्सी खाए। रक्सी र गाँजाले मात्तिएको कुशुम साँझ पौने ८ बजेतिर चुरोट किन्ने भन्दै डाँडाबाट तलतिर लाग्यो।
त्यो बेला श्रीया पनि बिस्कुट किन्ने भन्दै घरबाट पसलतिर जाँदै थिइन्।
सधैँजसो स्कूलबाट फर्केपछि श्रीया साथीकोमा गइन्। साथीको घरबाट फर्केपछि घरमा रहेकी हजुरआमासँग भोक लाग्यो भनिन्। हजुरआमाले ‘माइजूले भात पकाएकी होला खाऊ’ भन्दा पनि उनले पाँच रुपैयाँ मागिरहिन्। हजुरआमाले दिएको पाँच रुपैयाँ हातमा लिएर पसल हिँडेकी श्रीयालाई रक्सीले मातेका कुशुमले देखेका थिए।
उसले सुरुमा श्रीयालाई चक्लेट खाऊ भन्दै पाँच रुपैयाँ दियो। एक्लै हिँडेकी कुशुमलाई देखेपछि उसको मनमा पाप पलायो। उसले कुुशुमलाई फेरि १० रुपैयाँ दिन्छु भनेर बोलायो र जवर्जस्ती गर्न खोज्यो। श्रीयाले प्रतिकार गरिन्। रक्सीले मात्तिएको कुशुले श्रीयालाई त्यहीँनेरको पानी ट्याङ्कीमुनि रहेको झाडीमा धकेलिदियो। ऊ झाडीमा पुग्यो र बलात्कार गर्न खोज्यो। श्रीया चिच्याउन थालेपछि उसले दुबै हातले घाँटी अँचेट्यो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाका अनुसार त्यसपछि श्रीया बेहोस भइन्। ‘त्यसपछि उसले श्रीया मरी भन्ने ठानी त्यहीँ रहेको ढुंगाले अनुहार, टाउको लगायतका ठाउँमा प्रहार गर्दै टाउको थिची हत्या गरेको बयान दिएको छ ’, प्रहरी उपरीक्षक रानाले भने,‘ऊ त्यसपछि झाडीकै बाटो हुँदै मूल सडकमा गयोर त्यहीँ रहेको पानीको मूलमा हात खुट्टा धोई पखाली निरज खाजा घर नाम रहेको पसलमा पुगी चुरोट किनेर खायो।’
चुरोट खाएर पसलमा बसिरहेको कुशुमलाई दूध किन्न सोही पसलमा आएकी श्रीमतीले घर जाऊँ भन्दै सँगै लिएर गएको प्रहरीले जनाएको छ। कुशुम केही समय विदेश बसेर फर्केको पनि प्रहरीेले जनाएको छ। तालीमप्राप्त कुुकुरसहित घटनास्थल पुगेको प्रहरीले कुकुरले दिएको संकेतकै आधारमा घटनामा छिमेकी संलग्न रहेको निष्कर्ष निकालेको थियो।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्की नेतृत्वको टोलीले स्थानीय केही युवाहरुलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा कुशुमले आफू बलात्कार र हत्यामा संलग्न भएको स्वीकारेको थियो। कास्की प्रहरीले बलात्कारी र हत्यारालाई कडाभन्दा कडा कारवाहीको माग गर्दै अदालत पेश गर्ने जनाएको छ।

 

प्रकाशित १० असोज २०७५, बुधबार |

सम्बन्धित् समाचार