सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनसम्बन्धी निर्णयमा असहमति जनाउँदै स्थायी कमिटी सदस्यहरुको राय संकलन गर्ने भएका छन् ।
पार्टीको कार्यवाहक अध्यक्षसमेत कसैलाई नदिई दुबै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला नेता नेपालले सचिवालयको पछिल्लो निर्णय अश्वीकार गरेका छन् ।
नेपालले शुक्रबार अपरान्ह बानेश्वरमा स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएका छन् । आफूसँग भएको सहमति विपरीत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकबाट एकलौटी निर्णय गरेको भन्दै नेपालले सो निर्णय कार्यान्वयन गर्न नहुने अडान राखेका छन् ।
नेपाल अफ्रिका भ्रमणमा रहेका बेला ७ प्रदेशका २८ जना इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरु चयन भएका थिए । सो निर्णय परिपत्रमार्फत कार्यान्वयनमा समेत पठाइसकिएको छ ।
नेता नेपालले भने सो निर्णय पार्टीको विधान विपरीत भएको भन्दै अनौपचारिक छलफलका लागि स्थायी कमिटीका सदस्यहरुलाई बोलाएका हुन् । आफू तथा नारायणकाजी श्रेष्ठलाई झुक्याएर निर्णय गरिएको भन्दै स्थायी कमिटी सदस्यहरुलाई उनले यसबारे औपचारिक जानकारी दिन लागेको स्रोतले बतायो ।
नेता नेपालले स्थायी कमिटीका सदस्यहरुलाई आन्तरिक छलफलका लागि बोलाएको केन्द्रीय सदस्य विष्णु रिजालले पुष्टि गरे ।
सचिवालयको निर्णयमा आपत्ति
नेपालले आफू विदेश जानुअघि दुबै अध्यक्षसँग सल्लाह गर्दा प्रदेश कमिटीबारे सचिवालयले प्रस्ताव तयार गर्ने र स्थायी कमिटीबाट प्रदेश कमिटी गठन गर्ने सहमति भएको बताएका छन् ।
सचिवालयबाट निर्णय हुँदा चीनमा रहेका नारायणकाजी श्रेष्ठले विदेश जानुअघि प्रदेश कमिटीका बारेमा निर्णय गर्ने हो भने आफ्नो विदेश भ्रमण रोक्ने जानकारी दुवै अध्यक्षलाई गराएका थिए । तर, श्रेष्ठलाई अहिले निर्णय नहुने अध्यक्षद्वयले बताएका थिए ।
दुवै अध्यक्षबाट धोकापूर्ण ढंगले काम भएको भन्दै नेपालले स्थायी कमिटी सदस्यहरुसँग आफ्नो असहमति राख्न लागेको नेकपाका एक नेताले बताए । स्थायी कमिटीको अधिकार खोसेर विधान विपरीत सचिवालयमार्फत दुई अध्यक्षले आफूखुसी गर्न थालेको आरोप नेपालको छ ।