गृहपृष्ठ कला/साहित्य आशिर्वाद -नवीन प्यासी

आशिर्वाद -नवीन प्यासी

प्रकाशित मिति:

आशिर्वाद -नवीन प्यासी

-आँसुले बाटो छेक्नु अगावै
गइहाल्नू, एकैछिन पनि नउभिनू

जाँदाजाँदै बाटोहरुमा
आदिवासी ढुङ्गाहरु भेटिन सक्छन्
जथाभावी नकुल्चनू
ती मध्य कुनैकुनै देउराली हुन सक्छन्
जोसँग हिसाबकिताब हुनसक्छ
कसम खाएर पनि फर्कि नआउनेहरुको,
पुरानो किल्लाबाट खसेका पर्खालका टुक्राहरु हुनसक्छन्
जो धेरै पहिले
दुश्मनको निधारमा बजारिएका थिए होलान्,
जोगाउँदै-जोगाउँदै जानू

जाँदाजाँदै बाटोहरुमा
खडेरीलाई छिचोलेर फुलेका फूलहरु हुन सक्छन्
नटिप्नू मन पर्यो भन्दैमा,
ती मध्य कुनैकुनै भाइटिका कुरिरहेका सयपत्रीहरु हुनसक्छन्,
कठ्याङ्ग्रिदो जाडो पार गरेर फुलेका
कसैको चुल्ठो कुरिरहेका गुराँसहरु हुन सक्छन्,
बरु मुस्कुराउँदै-मुस्कुराउँदै जानू

कुहिरो पठाएर मौसमले तिमीलाई छल गर्न सक्छ
नआत्तिनू रत्तिभर पनि,
अँध्यारो पठाएर समयले तिमीलाई छल गर्न सक्छ
नडराउनू रत्तिभर पनि,
बरु पर्खनू, भोलि बिहान उदाउने घामलाई
जसले तिमीलाई गन्तव्य देखाउने छ

जाँदाजाँदै बाटोहरुमा
तिमीले चढ्नै नसक्ने उकालीहरु आउन सक्छन्,
तिमीले तर्नै नसक्ने नदीहरु आउन सक्छन्,
हताश नहुनू, धैर्य गर्नू
उकालीहरुमा सिँढीहरु भेटिन सक्छ,
नदीहरुमा डुङ्गाहरु भेटिन सक्छ

जाँदाजाँदै धेरै टाढा पुगेपनि
आफूले छाडेर आएको बाटो नबिर्सनू

एकदिन
तिमी सपनाको शहर पुग्नेछौ
जहाँ मान्छेहरु मान्छेजस्ता हुने छैनन्,
मान्छेको संवेदना बिक्रीमा राखिएको हुनेछ,
इश्वरहरुको थुप्रै कंकालहरु भेट्नेछौ
जसले डर सृजना गरिरहन्छ निर्दोष मष्तिष्कहरुमा

नवजात शिशुहरुलाई झाडीमा छाडेर हिँडेको
आमाहरु भेट्नेछौ,
नावालिक छोरीको लागि ग्राहक खोज्दै हिँडेको
जंड्याहा बाहरु भेट्नेछौ

तेतिबेला हाम्रो याद आउन सक्छ तिमीलाई
यदी याद आयो भने
तेता कतै धर्मशाला जानू अलिकति मुस्कान बोकेर जानू
र आफैंलाई सम्झाउनू –
मेरा आपा र आमा घरमै छन्/ हाँसीखुसी नै छन् ।
उनीहरुको आँखामा आँसु देखिन सक्छ,
देखियो भने यदि सम्झनू, संवेदना अझै मरि सकेको छैन

सम्बन्धित् समाचार