गृहपृष्ठ राजनीति सरकार चलाउन नेकपा असफल भयो ः झलनाथ खनाल

सरकार चलाउन नेकपा असफल भयो ः झलनाथ खनाल

प्रकाशित मिति:

नेकपाले नेतृत्व गरिरहेको सरकारले पनि सात महिना पार गरिसक्यो । यो अवधिमा सरकारले जुन गति लिएर काम गर्ला, अगाडि बढ्ला भन्ने अनुमान थियो त्यो अनुरुप अगाडि बढ्न सकेको छैन ।

के कारणले सरकार अगाडि बढ्न सकिरहेको छैन ? के कारणले देशमा आत्मविश्वास बढाउन सकिरहेको छैन ? के कारणले विकास र निर्माणमा एउटा लहर ल्याउन सकिएको छैन ? के कारणले शान्ति सुरक्षा दह्रो हुन सकिरहेको छैन ? किन अपराधीहरु जताततै उम्किरहेका छन् ? यी प्रश्नको जवाफ पार्टी कमिटीभित्रै छलफल गरेर हामी समिक्षा गर्न चाहन्छौँ ।

आजभन्दा झण्डै २०÷२२ वर्षअघि मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतको थियो । वरिपरि विभिन्न ढंगका शक्तिबाट घेरिएको थियो । अहिलेको जस्तो दुई तिहाइको पनि थिएन । त्यो सरकारले जम्मा–जम्मी ९ महिना सरकार सञ्चालन गर्यो । सरकार सञ्चालन गरेको ३ महिना पुग्दा नपुग्दै सरकारको पक्षमा राष्ट्रव्यापी रुपमा लहर पैदा भएको थियो त्योबेला ।

के कारणले पैदा भएको थियो भन्दा त्यो सरकराले अगाडि सारेको नीतिहरुको कारणले, कार्यक्रमहरुको कारणले, प्रतिबद्धताको कारणले, दृष्टिकोणहरुको कारणले ।

तर अहिले बनेको जुन सरकार छ यो झण्डै मनमोहनको सरकार जतिको आयु पार गर्न थालिसकेको छ । तर अझै त्यो खालको लहर आउन सकेन । यो साँच्चै नै ठूलो प्रश्न हो । हामी यो बारेमा पार्टीमै छलफल गर्न चाहन्छौँ ।

हामीले लोकतन्त्र, राष्ट्रियतालाई सुव्यवस्थित गर्नका लागि, सामाजिक, आर्थिक रुपान्तरण गर्नका लागि धेरै काम गर्न बाँकी छ ।

सरकार सञ्चालन गर्न नेकपा असफल

दुर्भाग्यको कुरा के हो भने, अहिले नेकपाले सरकार सञ्चालन गर्न सकिरहेको छैन ।

केन्द्रमा, प्रान्तमा तथा सयौं स्थानीय सरकार सञ्चालन गर्न नेकपा झण्डै झण्डै असफल जस्तै बनेको छ । केन्द्र सरकार आफ्नै ढंगले चलेको छ । प्रदेश र स्थानीय सरकार पनि आ–आफ्नै ढंगले चलेका छन् ।
सरकारमा नेकपाका कार्यकर्ताहरु चाहिँ छन्, तर त्यहाँ पार्टी कमिटीले निर्णय गरेर यसरी काम गर्नुहोस् भन्ने निर्देशन दिन सकेको छैन ।

केन्द्र सरकारमा पनि मन्त्री बनाउने सवालमा होस् वा विभिन्न संवैधानिक पदमा नियुक्ति गर्ने कुरामा होस् कुनै पनि काम पार्टी कमिटीको निर्णयबाट भएको छैन । आफ्नै ढंगले, मनोमानी ढंगले चलिरहेको छ ।
त्यसैले अब नेकपाको नेतृत्वलाई राम्ररी पुनस्र्थापित गर्नुपर्ने बेला आएको छ । यसरी हिँड्ने हो भने त हामी समाजवादको दिशातर्फ अगाडि बढ्न साह्रै गाह्रो छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता खनालसँग नवराज फुयाँलले गरेको कुराकानीमा आधारीत)

सम्बन्धित् समाचार