वैखरी असोज २० कपिलबस्तु
५ नं. प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले प्रदेशको संवृद्धिको लागि साहित्यकार र लेखकहरूको अहम भूमिका रहने बताएका छन् । लुम्बिनी वाङमय प्रतिष्ठान नेपालले सातौँ वार्षिक उत्सवको अवसर पारि आयोजना गरेको प्रदेश समिति गठन, कार्यालय उद्घाटन, स्रष्टा सम्मान, कृति विमोचन तथा रचना वाचन कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले कपिलवस्तु एक प्राचीन इतिहास बोकेको जिल्ला भएको र यसलाई अझै पनि प्रदेश सरकारले पर्याप्त विकास गर्न नसकिएको बताए । वाणगंगा नगरपालिका वडा नं. ९ कपिलधाममा आयोजना गरिएको उक्त कार्यक्रममा उनले प्रतिष्ठानको नव निर्मित भवनको उद्घाटन गर्दै दबिएका तथा लुकेका साहित्कारहरुको खोजी गरी उनीहरूका भावनालाई उजागर गर्ने जिम्मा प्रदेश सरकारको भएको जिकिर गरे । त्यस्तै पोख्रेलले इतिहास बोकेको कपिलधाममा एक स्रष्टा बराबर एक वृक्षारोपण गरेर उक्त स्थानलाई प्रदेशकै नमुना बनाउन आग्रह गरे । उनले वृक्ष लगाएको व्यक्तिको नाम शिलालेखमा लेख्ने र लगाएपछि हुर्कने सम्मको सबै खर्च प्रदेश सरकारले ब्यहोर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलमानले कपिलवस्तु जिल्ला र कपिलधामलाई अगाडि बढाउन धर्म र संस्कृतिले विशेष भूमिका खेल्ने बताए । उनले जुन धर्म, संस्कृतिको पालना गरे पनि सबै नेपालीहरू एक भएको समेत बताए । कमालले प्रदेश तथा जिल्लाको विकासको बारेमा पहल गर्न मुख्यमन्त्रीसँग आग्रह गरे । उनले कपिलवस्तु जिल्ला सँग सँगै कपिल धाम र प्रदेशको लागि आफू सदैव लागि पर्ने बताए ।
त्यस्तै प्रदेश सांसद विष्णु पन्थीले निर्वाचनको वेला जुन राजनीतिक पार्टीको पक्षमा रहे पनि अव भने सम्पूर्णको ध्यान विकास र संवृद्धिमा केन्द्रित हुन आवश्यक रहेको बताए । उनले व्यक्तिलाई शत्रु मान्नु भन्दा बेरोजगारी, पछौटेपन, गरिबीलाई शत्रु मानेर अगाडि बढ्यो भने प्रदेश संवृद्ध बन्ने बताए । प्रदेशको विकासका लागि सांसद पन्थीले मुख्यमन्त्री सामु विभिन्न विकासका पूर्वाधारहरूको बारेमा अवगत गराएका थिए । पन्थीले कार्यालयको भवन निर्माणमा मात्र केन्द्रित नभएर कला, संस्कृतिको संरक्षणमा लाग्न साहित्यकार र लेखकहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । भौतिक विकास सँगसँगै साहित्य र कलाको पनि उत्तिकै महत्त्व भएको उनको भनाई छ ।
स्रष्टा सम्मान
साहित्य तथा सञ्चार क्षेत्रमा योगदान पुर्याएकाे भन्दै ३ जना वरिष्ठ व्यक्तित्वहरू भेरीका सनत रेग्मी, लुम्बिनीका बुँद राणा र राप्तीका नारायणप्रसाद शर्मा (नारायण गुरु) लाई कदरपत्र सहित दोसल्ला अाेढाई सम्मान ।
कृति विमोचन
३ जना स्रष्टाका कृतिहरू विमोचन- ऋषि अाजादकाे समीक्षा सङ्ग्रह,योग प्राकृतिक चिकित्सक ध्रुव ज्ञवालीको योग साधनाको प्रयोग र बाल स्रष्टा जोशिका कँडेलद्वारा रचित प्रेरणा कविता सङ्ग्रहको विमोचन ।
लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले प्रतिष्ठान स्थापनाकाल देखि हालसम्मको गतिविधिको बारेमा स्पष्ट पारेका थिए । उच्च अदालत तुल्सिपुर बुटवल इजलासका न्यायाधीश वामदेव ज्ञवाली, वालकृष्ण ज्ञवाली, कपिलधामका अध्यक्ष शङ्कर प्रसाद आचार्य लगायतले मन्तव्य दिएका थिए । प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेल, जिल्ला प्रहरी प्रमुख मनोज कुमार यादव, कपिलधामका अध्यक्ष शङ्कर आचार्य, वाणगंगा नगरपालिकाका जनप्रतिनिधिहरू, १२ वटै जिल्लाका साहित्यकारहरूको सहभागिता रहेको कार्यक्रममा संस्थाका सचिव ऋषि आजादको स्वागत तथा सदस्य रुद्र ज्ञवालीको सञ्चालन रहेको थियो ।