गृहपृष्ठ खबर बौद्धका डिएसपी राई घुससहित अख्तियारको फन्दामा

बौद्धका डिएसपी राई घुससहित अख्तियारको फन्दामा

प्रकाशित मिति:

काठमाडौं, असोज २० । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख (डीएसपी) श्यामकुमार राई एक लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा शनिबार उनकै कार्यकक्षबाट पक्राउ गरेको जनाइएको छ ।

बौद्ध वृत सम्हालेदेखिदै त्यस क्षेत्रका व्यापारी–व्यवसायीमाथि घुस आतङ्क मच्चाएको आरोप खेपिरहेका राईविरुद्ध यसअघि प्रहरी हेडक्वार्टरमा उजुरीसमेत परेको थियो तर यस विषयमा कुनै कारवाही भएको थिएन । यद्यपि उनलाई उजुरीका सन्दर्भमा हेडक्वार्टरले पटक–पटक सचेत भने गराउँदै आएको थियो ।

हेडक्वार्टरको सल्लाहलाई वेवास्ता गर्दै आफ्नो गलत कामलाई निरन्तरता दिईरहेका राई अन्ततः रङ्गेहात पक्राउ परे । त्यतिमात्र होइन गतसाता एउटा प्रहरी बिटको उद्घाटनमा गृहमन्त्री रामबहादुर थापा लगेको फूर्ति लडाउँदै गरेका डीएसपी राई उनैले संरक्षण गरेका दुई जुवाडे शुक्रबार राती तीन तलाबाट लडे । उक्त घटनाले तनावमै रहेका राई शनिबार साँझ आफैं पक्राउ परे ।

शुक्रबारको उक्त घटनामा घाइते भएकाहरुको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको खालमा राईले थाहा नपाई उनीमाथिको निकाय काठमाडौं प्रहरी पसिरले एक्कासी छापा मारेको थियो । दुई जुवाडे भाग्दा घरबाट हाम फालेका थिए ।

घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेन्डी शेर्पाको घरमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा ठेगाना नखुलेका ४१ वर्षीय सरोज घले र सोमलाल तामाङको मृत्यु भएको हो ।

प्रहरीले जुवाखालबाट एक महिलासहित २३ जनालाई पक्राउ गर्नाका साथै  चार लाख ५८ हजार र केही थान सुनका गरगहना बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिए । उक्त स्थानबाट केही खुकुरी र मोटरसाइकलका साथै जुवा खेलाउन प्रयोग गरिने केही सामग्रीसमेत बरामद गरिएको छ ।

सम्बन्धित् समाचार