गृहपृष्ठ कला/साहित्य “नोकर जिन्दगी”- दीप पाठक

“नोकर जिन्दगी”- दीप पाठक

प्रकाशित मिति:

“नोकर जिन्दगी”
– दीप पाठक

हामी यी भूगोलहरूमा,
र यी घन्टाउके देशहरूमा पुगेका छौ,
जसले आफूलाई शक्तिशाली ठान्छन्
र छन पनी
हामीलाई नोकरी चाहिएको छ,
जहाँ नोकरी प्रशस्त छन्
र दिन्छन पनी।।

सडक बढार्ने देखि,
सिमाना रक्षा गर्ने नोकरी छन्
५२ डिग्री सेल्सियसको तातो बालुवा माथि,
माईनस २० डिग्री सेल्सियसको फ्रोजन भित्र,
नोकरी छन्,
गल्ली भित्रका गेट बाहिर,
अनगिन्ती वेश्यालयमा,
कति वधशालामा,
र कति चिहान घर सम्म
नोकरी छन्।।

भनिन्छ
आणविक विकीरणले
क्यान्सर निम्त्याइदिन्छ रे
रसायनले
मुटु-कलेजोसम्म असर गर्छ रे
त्यसैले होला
आणविक भट्टीमा
अनि केमिकलका कारखानामा
हामीलाई नोकरी पाईन्छन
फलतः देशमा पुजी भित्राइन्छ।।

राती सुतेका हामी
बिहान नउठ्नुमा पनी कारण छन्
मौसमले च्यालेन्ज गर्दिन्छ जिन्दगी माथि,
सोलुबाट कुवेत र अरेबिया पुग्नु परेपछि
तराईबाट ओस्लो र रसिया पुग्नु परेपछि।
जीवनमा यी एक जोर पैंतलाले
यति विघ्न धर्ती चहार्नुको पछाडि
मेरो सरकारले नजन्मँदै
थाप्लोमा ऋण बोकाइदिएको साईनो छ।
र मैले देश रहनु मा
जुन माटोमा जन्मिएको साईनो छ।।

वर्षकीछोरी पाँचवर्षकी हुँदापनी
अझै फर्किन सकेको छैन
जिन्दगी लिएर जिन्दगी सम्म।
यी’आँखाले त्यो आकृति पलपल खोज्छन्
तर अफसोच
छोरीले कापी-कलम खोज्छे
बाका मक्किएका हड्डीले
बाच्नलाई थोरै बल खोज्छन्
आमाका फुटेका पैतालाले एक जोर
चप्पल खोज्छन्
त्यसैले म बेचिएको छु,गालिएको छु
आरनमा पगालिने
कवाडी फलामजस्तै सस्तो मूल्यमा
ब्याजको स्याजसम्म तिर्नुपर्ने ऋण बोकेर।।

मान्छे जस्तै काम गर्ने रोबर्ट देख्छु
अनि गाउँका ढिकी र जाँतो सम्झिन्छु,
हरेक दिन म नोकरी जादाँ चढेको रेल
फ्लाई ओभर माथि दगुर्दा,
कर्णालीका तुइन सम्झिन्छु,
आखिर सम्झीनु रहेछ जिन्दगी
फगत देश सम्झी रहन्छ
बेचिएको यो
नोकर जिन्दगी।।

सम्बन्धित् समाचार