काठमाडौँ / यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
लक्ष्मीपूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथिअनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ।लक्ष्मी धनकी देवीलाई भनिन्छ ।
लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
लक्ष्मी शब्दको अर्थ-लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख “ऋग्वेद” को पुरूषसूक्तमा भेटिन्छ । “श्रीश्च ते लक्ष्मीश्च ऊषाण ।” हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन् । तंत्रागम का अनुसार सर्वोत्तम अवस्थामा विष्णु र उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् । विष्णु र लक्ष्मी एक-आपसमा अभिन्न छन् ।केवल सृष्टिको समयमा भिन्न देखिन्छन् । स्त्रीको चौसठ्ठि कला मानिएको छ । चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ । सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ । भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो ।
लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो ।