नेपाली कपडा उद्योगीहरुले भ्याट फिर्ता पाउनुपर्ने माग राख्दै उद्योग बन्द गराएका छन्। चालू आर्थिक वर्ष २०७५।०७६ को बजेट र आर्थिक ऐन मार्फत सरकारले उद्योगीहरुलाई दिँदै आएको भ्याट फिर्ता हटाएको थियो। सर्वसाधारणले तिरेको भ्याट उद्योगीहरुले नै पाउनु पर्ने माग राख्दै उद्योगीहरु आजदेखि आन्दोलित भएका हुन्।
उनीहरुले पहिलो चरणकाे आन्दोलन स्वरुप उद्योगहरु बन्द गराएका छन्। ७ दिन भित्र पनि उद्योगीहरुको माग पुरा गर्न सरकार तयार नरहेको खण्डमा अर्को चरणको आन्दोलन गर्ने उद्याेगीले सरकारलार्इ चेतावनी दिएका छन्। नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले चेतावनी दिँदै भने, ‘८ गते देखि उद्योगीहरुको सल्लाहमा अर्को रणनितिक आन्दोलन पनि हुन सक्छ।’
अहिले देशभर रहेका दुई सय ५० वटै कपडा उद्योग बन्द भएका छन्। उद्योगहरु बन्द हुँदा ५० हजार कामदार बेरोजगार बनेका छन् भने उनीहरुसँग आश्रित करिब २ लाख ५० हजार जनसंख्या प्रभावित बनेका छन्।
उद्योगीहरुले सरकारी नीतिका कारण अर्बौ लगानी भइसकेका कपडा उद्योग समस्यामा परेको बताएका छन्। सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएकोले विरोध गर्नुपरेकाे उद्योगीहरुको भनाई छ। गत असोज १३ गते सरकारलाई नीति सच्याउन माग गरेकाेमा त्यसको सुनुवाई नभएपछि विरोध गरिएकाे उनीहरु बताउँछन्।
त्यस्तै नेपालमा भन्सार छलि भएर भित्रिएका कपडासँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेकोले नेपाली उद्योगलाई सरकारले सहलियत दिनु पर्ने उद्योगीहरुको माग छ। भन्सार छली भएर आउने सामानलाई मात्रै रोक्न सके पनि नेपाली उत्पादनले केही बजार पाउने र उद्योग टिक्न सक्ने उनीहरुको भनाई छ।
उद्योग संघले जानकारी गराए अनुसार नेपालमा वार्षिक १ अर्ब ५ करोड मिटर पहिरनको कपडा खपत भएपनि स्वदेशी उद्योगबाट जम्मा ६ करोड २५ लाख कपडा मात्रै उत्पादन भैरहेको छ। यसबाहेक घरायसी कपडा (तन्ना, पर्दा, तौलिया, सिरक लगायत) को वार्षिक खपत ९० करोड मिटर र औद्योगिक कपडामा ३० करोड मिटर कपडा खपत हुने गरेको छ।