गृहपृष्ठ कला/साहित्य बा यो कस्तो गणित ?

बा यो कस्तो गणित ?

प्रकाशित मिति:
कविता
बा यो कस्तो गणित ?

-युबराज फुयाल

म सम्झदै छु यतिबेला
बा ले हात समाती समाती लेख्न सिकाएको
आत्मरक्षाको एक
एकमा एकनै जोडे दुई हुने प्रगतिको बिम्ब
प्रत्येक भातका सिताहरूमा दुईले गुणन गरेर 
आमाले रच्नुभएको मेरो सरिर
अहंकार र घमन्डहरूमा समाजले सिकाएको घटाउ

मेरो उमेरको गणितमा अंकहरू थपिदै जाँदा
दुईमा दुई जोडे जसरिनै थपिए रहरहरू
दुईलाई दुईलेनै गुणन गरेर थपिए सपनाहरू
उसरिनै थपिए बा आमाका बिश्वासहरु

थपिए दुःख शुखमा यक्स वाई को बिचगणित 
थपिए अंकगणित
थपिए ठोस तरलको धनत्व
ज्यामितिका कोण कोण डिग्री डिग्री थपिए
कति सरल रेखाहरु थपिए
कति बक्र रेखाहरु थपिए
कति समानान्तर बगे

तर,
तर जिन्दगीको गणित सधै ऋणात्मक भइरह्यो
एकमा एकै घटे जसरि घटिरह्यो प्रगती
एकलाई एकलेनै भागा गरेजसरि घटिरह्यो प्रतिष्ठा

मैले हरेक दिन पढें एकमा एक घटाउदा हुने जिरो
तर कहिलै बुझिन एकमा एकलेनै गुणन गरे हुने एक,

मैले कयौं पटक खिचेहोला त्रिभुजका कोणहरू
तर कहिलै बुझिन भबिस्यमा बाधा पार्ने अष्ठभूज
मैले हरेक दिन खिचें कापिमा सरल रेखाहरु,
तर खै किन सिकिन जिन्दगीलाई समानान्तर रेखामा बगाउन

बरू,
पाइला पाइलामा खिचिए गन्तब्य हराएका अन्योल 
खिचिए कहिल्यै पूरा नहुने संघर्षका रेखाहरु 
अनि खिचिए खुशी हराएका साँझ
पत्तै नभई के के खिचिए खिचिए
खिच्ने पनि खिचिए
नखिच्ने पनि खिचिए

आज एउटा प्रस्न गर्न मन छ
बा यो कस्तो गणित सिकें मैले?
जसले आमाको भोको पेटमा भातको भाग गर्न सिकाएन
बा का उदासीहरु घटाएर खुशीहर जोड्डन सिकाएन

यो कस्तो गणित सिकें मैले?
जसले अन्यायमा न्याय कहिलै जोडेन
न्यायको अगाडि अन्याय कहिलै घटाएन

भन्नुन बा यो कस्तो गणित सिकें मैले?
जहाँ म मा म ले गुणन गर्दा किन म हुन सक्दिन?
म मा म जोड्दा हमी हुन सकिन्न?

सम्बन्धित् समाचार