विश्व सिमसार सूचीमा सूचीकृत जगदीशपुर तालमा चराको चोरी निकासी बढ्दै गएको छ।
केही दिनयता तालमा मरेर तैरीरहेका चराहरु धमाधम भेटिन थाले पछि चराको चोरी शिकारी फेरि बढ्दै गएको पाइएको हो।गिरोहले विष हालेर मारेका चराहरु पानीमा तैरिने गरेको र लैजन नसकेका त्यस्ता चराहरु भेटिएको जगदीशपुर ताल ब्यवस्थापन बहुसरोकार मंचका सदस्य ललति गुरुङले बताए।
कृत्रिमरुपमा बनाइएको सो तालमा जाडोको मौसममा विभिन्न देशबाट चराहरु आउने गरेका छन्। आइतावर बिहान १८ र साझ ६ वटा गरी दुई दर्जन बढी विदेशबाट आएका आगुन्तक चराहरु मरेको अवस्थामा भेटिएका छन्।
तालमा चरा मार्ने गिरोह यस वर्ष फेरि सक्रिय रहेको स्थनीयले बताउँछन्। खादा निकै स्वादिष्ट हुने भन्दै बजारमा यसको माग उच्च छ। एक जोडीकै हजार रुपैयाँ बढी मूल्य पर्ने गरेको स्थानीयले बताए। चराको चोरी निकासी बढ्न थालेपछि आफूले सो विषयमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, वन र स्थानीयसँग चोरी निकासी रोक्नका लागि पहल थालेको कपिलवस्तु नगरपालिका–९ का वडाध्यक्ष शिव वाग्लेले जानकारी दिए।
जाडोका चार–पाँच महिना चराचुरुङ्गी आएर फुल पारी बच्चा हुर्काई फर्कने गर्दछन्।चराले ईको सिस्टमलाईमद्दत गरी बालीनाली उत्पादनमा सहयो गर्ने भएकाले अबैधरुपमा हुने यस्ता चोरी शिकारीलाई नियन्त्रण गर्न जरुरी रहेको चराबिद डाक्टर हेमसागर बरालले बताए।
‘उत्पादन र आयआर्जन बढाउने गराउने पंक्षीको संरक्षण गर्न पर्छ’ उनले भने। कपिलवस्तु नगरपालिका– ९ र १० मा रहेको जगदीशपुर ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। सो तालमा ११८ प्रजातिका चरा, आठ प्रजातिका उभयचर र तीन प्रजातिका सरीसृप पाइन्छ। जैबिक बिबिधताले महत्वपूर्ण भएकै कारण यस जलासयलाई रामसार कन्भेन्सन अन्तर्गत सन् २००३ मा अन्तर्राष्ट्रिय सिमसार क्षेत्रमा सूचीकृत गरिएको हो।