वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको सुठौली भन्सार कार्यालयमा कार्यालय प्रमुखमाथि दुव्र्यवहार तथा हातपात गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवा निवासी ४१ वर्षीय दिलिप कुमार चौधरीविरुद्ध सुठौली भन्सार कार्यालयले जाहेरी दिएको थियो । जाहेरीमा चौधरीले कार्यालय प्रमुख किरण बिष्टको कार्यकक्षमा प्रवेश गरी अमर्यादित व्यवहार, गालीगलौज तथा हातपात गरेको उल्लेख गरिएको छ ।
जाहेरी प्राप्त भएपछि घटनास्थल सुठौली भन्सार कार्यालयस्थित कार्यालय प्रमुखको कार्यकक्षबाटै चौधरीलाई प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ पुर्जी प्रदान गरी नियन्त्रणमा लिइएका चौधरीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय तौलिहवाबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर सम्बन्धी मुद्दामा सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।
प्रारम्भिक जानकारी अनुसार भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा प्राप्त हुने सुविधा सम्बन्धी विषयमा विवाद उत्पन्न भएपछि घटना भएको बुझिएको छ।
यद्यपि घटनाको वास्तविक कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
उता भारतीय गाडीको सुबिधाको बारेमा बुझन खोज्दा एजेन्ट लगाएर कर्मचारीले नै उल्टै कुटपिट गरेकोे पक्राउ परेका चौधरीको परिवार पक्षले आरोप लगाएको छ ।







