राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन मंगलबार (आज) बाट सुरू हुँदैछ। आज बागमती प्रदेश अधिवेशन हेटौंडामा हुँदैछ।
बागमती प्रदेश अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने प्रदेश सभापति अच्युतम लामिछानेले जानकारी दिए।
लामिछानेका अनुसार प्रदेश अधिवेशनमा एक हजारभन्दा बढी नै प्रतिनिधि सहभागी हुनेछन्।
‘पहिलो अधिवेशन भएकाले छुट्टै उत्साह छ। तयारी अन्तिम चरणमा पुर्याएका छौं,’ उनले भने, ‘प्रतिनिधिका रूपमा एक हजार जनाभन्दा बढी नै सहभागी हुने आकलन छ।’
उनले प्रदेश अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना न्यून रहेको बताए। प्रदेशको नेतृत्वमा आफू दोहोरिन चाहेको पनि जानकारी दिए।
‘प्रदेशको नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना कम छ। प्रतिस्पर्धा नै हुने देखिएको छ,’ उनले भने, ‘प्रतिस्पर्धामा को–को आउनुहुन्छ प्रक्रियामा गएपछि थाहा होला। अहिलेसम्म चुनाव नै हुने देखिन्छ।’
एक नेताले जानकारी दिएअनुसार प्रदेशको आगामी नेतृत्वका लागि उत्सव अर्यालले पनि आकांक्षा राखेका छन्। उनी हाल प्रदेश प्रवक्ता छन्। मकवानपुरवासी नै उनलाई महामन्त्री बनाएर सर्वसम्मत गर्ने प्रयास पनि भइरहेको नेताहरूले बताएका छन्।
प्रदेशको नेतृत्वका लागि डा. रमेश ढकाल पनि आकांक्षी छन्।
हाल स्वास्थ्य विभाग प्रमुख रहेका ढकाल शंकरापुर अस्पतालका सञ्चालक हुन्। पूर्व एमाले पृष्ठभूमिका उनलाई उपसभापतिमा समेट्ने तयारी भइरहेको पनि नेताहरूले बताएका छन्।
त्यस्तै महामन्त्रीमा दिनेश भट्ट पनि आकांक्षा राखेका छन्।







