प्रतिष्पर्धा !!
न कैलै आंशुहरूले
मुटु संग प्रतिष्पर्धा गरे
न कहिलै पसीनाहरूले
निधार संग !
न लड़ाए ड्याम्मै
सुस्केराहरूले सहानुभूतिलाई !
न कहिलै चुनौती दिए
सूँकसूँकीहरूले सम्भावनाहरूलाई !
हर्के,बिर्खे,सामली,शंकरे र मलाई
उभ्याइयो लहरै
अनि
भन्न लगाइयो कविता
पुरस्कारमा पैसा देखाई !
भनियो-
हाम्रा कविताहरूले प्रतिस्पर्धा गर्नेछन
कोही हार्ने छन कोही जित्ने छन !
हारेकै तकदिरहरूको लड़ाइँमा
हार्नु कसलाई थियो
अनि
जित्नु कसलाई ?
“न कैलै आँशुहरूले
मुटू संग प्रतिष्पर्धा गरे
न कहिलै पसीनाहरूले
निधार संग !”
हेरिरह्यौं हामी टुलुटुलु एक अर्कालाई
सम्झिरह्यौं पेटलाई
अनि
पुरस्कारको पैसालाई !
बिर्सियौं क्षणभरलाई हामी को हौं भनेर !
साँधिरह्यौं निशाना
एक अर्काको आँशु प्रति
एक अर्काको पसीना प्रति
र
तयार भयौं प्रतिष्पर्धाको लागि !
हली दाईको आँशु लेखेको थिएँ मैले
‘जज’मा जमिन्दार रहेछन !
परदेशीको पसीना लेखेको थियो हर्केले
निर्णायकमा नेता ज्यू रहेछन !
आमाको रगत लेखेकी थिई सामलीले
विधातामा बलात्कारी रहेछन !
गरीबको रक्तवीज लेखेको थियो शंकरेले
सुलहमा सामन्त रहेछन !
खासखुस-खासखुस
धेरै बेर भए पछि भनियो-
नतीजा आयो !
हामी फेरि हेराहेर गर्यौं
उही शैलीमा
उही गतिमा
उही मान्यतामा
उही स्वीकारोक्तिमा,
दोहोर्यायौं मनमनै मुसुक्क-
“न कहिलै प्रतिशपर्धा गर्यो
आँशुले पसीना संग
न कहिलै प्रतिष्पर्धा गर्यो
रगतले वीर्य संग !”
एकाएक
ठूलो आवाजमा
उद्घोष भयो नाम बिजेताको !
विजेता- बिर्खे !
कविताको शीर्षक- सुन्दर नेपाल !
पुरस्कार- नगद,प्रमाणपत्र,नाम, नाक अनि ताली !
धन्न प्रभु !
हामी अराजकहरू बँचियो !
अर्को एउटा सर्जक ‘बजार’मा भर्ना भयो !
“न कहिलै आँशुहरूले
मुटूसंग प्रतिस्पर्धा गरे !
न कहिलै पसीनाहरूले
निधार संग !”
-हेमन्त गिरी, जापान