आकाश छुन हिंडेको वैशालु बाफ
उचाइमा,
चिसो हावाको संभोगले गर्भिणी भै
थेग्न नसकी गर्हौ शरीर
धर्तीमा बेठेगान खस्दा
शैशव शिशु झै जन्मिए सुन्दर हिउँ ।
रुवी जन्माउने बादल हटाएर
चकम्न्न तारा लागेको आकाश हेर्न मन थियो
कपास खसाउने मेघ पन्छाएर
निर्मल निहारिका नियाल्ने मन थियो
तर
कुन कालीगढ कुन सिकर्मी कुन डकर्मी
या कुन आधुनिक इन्जिनियरको नाप नक्साले
थपक्क अढिए मेरा परेलीमा यी हिउँ
र
बसाए सुन्दर स्वेत बस्तीहरु
मैले आँखा झिम्क्याउँदा
भुइचालो नजाओस यी बस्तीमा
यहाँ त भर्खर जन्मिएका हिउँका शिशुहरु
मान्छेको जस्तै कोमल जीवन लिएर
नयनका कोक्रामा हल्लिरहेछन ।
यहाँ हिउँ जन्मियो कि हिउँ जस्तै मान्छे
चुम्छन सबैले दुधे बालकलाई चुमे झै
उठाउछन हल्केलामा आफ्नै सन्तानलाई स्नेहले हल्लाए झै
प्रफुल्लित हुन्छन, खुशी साट्छन
लुट्पुटिन्छन आगनको न्यानो घाममा
तेल सेकेर आनन्दित मानेको सन्तानसंग जस्तै ।
जन्मेपछी मान्छे हुर्किन्छ,बढछ,आत्मानिर्भर हुन्छ
तर,कुन आमाको वात्सल्यता र स्नेहको लिटोले हुर्की
यती चाडै जमेर आफु हुर्केको,
परीपक्क र कडा भएको
चुनौती दिन्छन यी हिउँहरु ..?
याद रहोस्,
निस्चल,सफा दाग रहित इज्जत भए न हो
दुनियाँ नजिकिने,
हिलो मिसिएको हिउँ कालो दाग र कुल्चिएको माम्री
सायदै नहेर्ला कसैले
शायदै नचुम्ल्ला कसैले ।
हिउँको थुम्को देख्दा हतारमा नकुल्चिनु
यहाँ देउराली छोपिन सक्छ
हिउँको रास देख्दा हतोत्साही नहुनु
यही बाटो छिच्चोलेर गन्तब्यमा सफलताको
बिज रोपिन सक्छ
समथर हिउँ नै हिउँ देखे ढुक्क नहुनु
जीवनका अनगिन्ती गोरेटाहरुमा
काँढाले खुट्टा खोपिन सक्छ
परेलीमा थप्पक अडिएको हिउँको बस्ती
पग्लिएर बिलिन भएर
ओरालो लागेको देखिने झरनामा
बहेको नदेखिने जिन्दगीको
एक थोपा आसु मिसिएको छ
सबैले हिउँ देखे
मैले हिउँ भित्र जिन्दगी
दुबै पल्याकपुलुक फास्फुस
धर्तीमै बिलाउने ।
– बुद्दि मोक्तान