गृहपृष्ठ Featured नवलपुरको देवचुलीमा सामाजिक र नैतिक शिक्षा अनिवार्य

नवलपुरको देवचुलीमा सामाजिक र नैतिक शिक्षा अनिवार्य

प्रकाशित मिति:

आदर्श सुशिल,देवचुली
नेपाल कै कान्छो जिल्ला नवलपुरको देवचुली नगर कार्यपालिकाको बैठकले नगरभित्रका बिध्यालयहरुमा सामाजिक शिक्षा र नैतिक शिक्षा अनिवार्य गरि नेपाली भाषामा अध्यापन गराउनुपर्ने निर्णय गरेको छ । सोमबार बसेको ३१ औं कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।

नगरपालिकामा हाल २९ सामुदायिक र ११ संस्थागत गरि ४० बिध्यालय सन्चालित छन् । सोको बारेमा नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो । कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिंदै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसालले नयाँ शैक्षिक सत्रबाट नै सामाजिक र नैतिक शिक्षा अनिवार्य लागु गरि नेपाली मै पठनपाठन गराउन केहि चुनौती भए पनि वर्तमान अवस्थामा अत्यावश्यक भएको बताउनु भयो यसै गरि नगरपालिकाका प्रवक्ता एवम् वडा नं १३ का अध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीले अहिलेको बालबालिकामा नैतिक शिक्षाको खडेरी परेकाले यस्तो कार्य देवचुलीमा मात्र नभई देशैभर लागु गर्नु पर्ने बताउनु भयो ।

साथै नगरप्रमुख पूर्णकुमार श्रेष्ठले अहिलेको बालबालिकाले अंग्रेजी शिक्षाले चतुर बनाएत पनि एउटा निबेदन समेत लेख्न नसक्ने भएकाले सामाजिक र नैतिक शिक्षा नेपालीमा अध्यापन गराउनुपर्ने बताउनु भयो । यधपी प्याब्सन नवलपुर तथा केहि शैक्षिक व्यक्तित्वहरुले नगरपालिकाको यस निर्णय स्वागत योग्य भए पनि कार्यान्वयनमा निकै जटिलता र चुनौती रहेको बताएका छन् | यस निर्णयलाई कुनै एक कक्षाबाट सुरु गर्दा उचित हुने उनीहरुको भनाई रहेको छ ।

साथै नगरपालिकाको ३१ औं कार्यपालिका बैठकले अन्य केहि महत्वपूर्ण निर्णय समेत गरेको छ । नगरपालिकाले समय व्यवस्थापन,वडा कार्यालय निर्माण तथा व्यवस्थापन,सार्वजनिक जग्गाको संरक्षण,नगर भित्र शिक्षाको दिर्घकालिन नीति निर्माण गर्ने,हरेक बिध्यालयमा बालउधान निर्माण गर्ने रहेका छन् ।

यसैगरी प्रत्येक वडामा बर्षमा एक पटक सार्वजनिक सुनुवाई गर्ने,नगरपालिकाका महत्वपूर्ण योजनाको डीपीआर तयार गर्ने,बिपत व्यवस्थापन तालिम सन्चालन गर्ने,साथै नगरपालिकाको काम कारबाहीका बिषयमा नगरबासीलाई सुसुचित गर्न प्रत्येक ३/३ महिनामा नगरपालिकाबाट भए गरेका कामहरु नगरपालिकाको वेबसाइट राखिने निर्णय समेत गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाका प्रमुख,उपप्रमुख,प्रवक्ता,वडाध्यक्ष तथा नगरपालिकाका कर्मचारीको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार