गृहपृष्ठ खबर कपिलवस्तुले रोक्यो प्रदेश नः ५ लाई खुला दिसा मुक्त हुन

कपिलवस्तुले रोक्यो प्रदेश नः ५ लाई खुला दिसा मुक्त हुन

प्रकाशित मिति:

प्रदेश नम्बर ५ लाई खुला दिसा मुक्त बनाउने अभियानको बाधकको रुपमा कपिलवस्तु जिल्ला देखिएको छ । कपिलवस्तु नगरपालिकाको नगरस्तरीय सरसफाई स्वच्छता समन्वय समिती सँगको छलफलका क्रममा खानेपानी, सरसफाई तथा ढल व्यवस्थापन बिभागको टोलीले सो जानकारी दिएको हो । सो अवसरमा बोल्दै बिभागका समाजशास्त्री भोजेन्द्र अर्यालले कपिलवस्तु जिल्लाकै कारण प्रदेश ५ खुला दिसा मुक्त हुन नसकेको जानकारी दिए । “घोषणामा ढिलाईले अन्य स्थानमा समेत पुर्ण सरसफाइृका योजना सञ्चालनमा समस्या परेको छ ।” अर्यालले भने । हाल सम्म नेपालका करिब ५४ लाख घर धुरी मध्य ९९ प्रतिशत घरधुरीमा शौचालय निर्माण भै सकेको उनले जानकारी दिए । नेपालका ७७ मध्य ६४ जिल्ला घोषणा भएको ३ जिल्ला घोषणाको अन्तिम अनुगमनमा रहेको उनले जनाए । घोषणा हुन बाकी १३ जिल्ला मध्य कपिलवस्तु र बारा जिल्लाको प्रगती पुछारमा रहेको देखिएको छ । देशभरका घोषणा हुन बाकी १८ नगरपालिका मध्य कपिलवस्तुको कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिका तथा २२ गाँउपालिका मध्य यशोधरा र शुद्धोधन गाँउपालिका घोषणा हुन बाकी रहेको अर्यालले जानकारी दिए । जिल्लाको कृष्णनगर नगरपालिकामा अझै पनि २ हजार ८ सय घरमा शौचालय बन्न नसकेको स्पष्ट पार्दै नगरपालिका सँगको छलफलमा यहि जेठ महिना भित्र खुला दिसामुक्त घोषणा गर्न नगरपालिकाले प्रतिबद्धता जनाएको अर्यालले जानकारी दिए । सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका वास फोकलपर्सन बलराम न्यौपानेले नगरपालिकाको १२ मध्य ९ वटा वडा खुला दिसामुक्त भएको जानकारी दिए । बाकी रहेका वडा नम्बर ४,५ र ६ मा ५ सय ३१ घरधुरीमा शौचालय निर्माणाधिन अवस्थामा रहेको र ७ सय ९३ घरधुरीमा शौचालय निर्माणको कार्य अगाडी बढाउन आबश्यक योजना अगि बढाईएको न्यौपानेले जनाए ।
बिभागका बरिष्ठ समाजशास्त्री कमल अधिकारीले अभियानलाई दु्रत रुपमा अगाडी बढाउन घरधुरीको तथ्याङ्क संकलन, सरोकारवाला नशांकन, सुक्ष्म योजना निर्माण र कार्यान्वयन, अनुगमन तथा निगरानीमा ध्यान दिन आवश्यक रहेको बताए । अभियान सफल पार्न वडास्तरीय सुक्ष्म योजना बनाई बस्तीस्तरमा कार्यान्वयन गर्नु पर्ने सुआहाराका जिल्ला संयोजक लवहरी बुढाथोकीले सुझाव दिए । डिभिजन खानेपानी सरसफाई कार्यालय कपिलवस्तुका प्रमुख राजकुमार चौधरीले कपिलवस्तुलाई खुला दिसामुक्त बनाउने अभियान सफल पार्नका लागी छुटेका स्थानमा सबै सरोकारवालाले ध्यान दिन आवश्यक रहेको बताए । आफहरु अहिले कृष्णनगर नगरपालिकामा बढि केन्द्रित रहेको उनले स्पष्ट पारे । कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले कपिलवस्तु नगरपालिकामा २०६८ सालबाटै शुरु भएको अभियान पछिल्लो समय दु्रत गतिमा बढेको बताए । खुला दिसामुक्त अभियान नगरपालिकाको प्रतिष्ठाको बिषय समेत रहेकाले नगरपालिका सो बिषयमा गम्भिर भएर लाग्ने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा उपस्थित सरोकारवालाले कपिलवस्तु नगरपालिकालाई अषाढ १५ गते भित्र खुला दिसामुक्त घोषणा गर्ने लिखित प्रतिबद्धता जनाएका थिए । कपिलवस्तु नगरपालिकालाई आफनो कार्यकालमा खुला दिसामुक्त घोषणा गर्न पाउनु आफुहरुका लागी समेत सम्मानको बिषय भएकाले अभियान सफल पार्न कुनै कसर बाकी नराखिने उपप्रमुख लक्ष्मी गुप्ताले प्रतिबद्धता जनाईन । कार्यक्रममा सहभागी वडा अध्यक्षहरु गैरे, रावेन्द्र त्रिपाठी, दिरेप कुमार चौधरी, ओम प्रकाश पाण्डेय र वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष दुर्गेश पाण्डेयले घोषणा अभियान सफल पार्न पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कपिलवस्तु जिल्लाका १० स्थानिय तह मध्य हाल सम्म ६ स्थानिय तह खुला दिसामुक्त घोषणा भै सकेका छन ।

सम्बन्धित् समाचार