गृहपृष्ठ खेलकुद विश्वकप क्रिकेट ः पाकिस्तानलाई दोस्रो सफलता

विश्वकप क्रिकेट ः पाकिस्तानलाई दोस्रो सफलता

प्रकाशित मिति:

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दोस्रो जित हात पारेको छ। आइतबार लर्डसमा भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको हो।

पाकिस्तानले दिएको ३०९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पूरै ५० ओभर खेल्दै नौ विकेट गुमाएर २५९ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले अर्धशतक बनाए। ७९ बल खेलेका उनले पाँच चौकाको मद्दतमा ६३ रन बनाए। यसैगरी क्विन्टन डी ककले ४७, एन्ड्ली फेलुक्वायोले ४६, रासी भान डल डुसेनले ३६ र डेभिड मिल्लरले ३१ रन बनाए।

पाकिस्तानका सदाव खान र वाहव रियाजले तीन/तीन विकेट लिए। यसैगरी मोहम्मद आमिरले दुई तथा साहिन अफ्रिदीले एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले उत्कृष्ट सुरुवात गरेको थियो। पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर  ३०८ रन बनायो। प्रारम्भिक ब्याट्सम्यान इमाम उल हक र फाखर जमानले ८१ रनको साझेहारी गरेका थिए। दुवै प्रारम्भिक ब्याट्सम्यानले समान ४४ रन बनाए। यस क्रममा इमामले ५८ बलमा ६ चौका र जमानले ५० बलमा एक छक्का र ६ चौका हिर्काए।

यसैगरी हरिस सोहेल र बाबर आजमले अर्धशतकीय पाली खेले। सोहेलले ५९ बलमा तीन छक्का र नौ चौका मद्दतमा ८९ रन बनाए। यसैगरी आजमले ८० बलमा सात चौकाको मद्दतमा ६९ महत्वपूर्ण रन बनाए। यस्तै इमाद वासिमले २३ र मोहम्मद हफिजले २० रन बनाए।

दक्षिण अफ्रिकाका लुन्गी निग्दीले तीन विकेट लिए। यसैगरी इमरान ताहिरले दुई तथा अइडन मार्कम र एन्ड्ली फेलुक्वायोले एक÷एक विकेट हात पारे।

जारी विश्वकपमा यसअघि पाकिस्तानले खेलेका पाँच खेलमध्ये एक खेलमा मात्र जित हात पारेको थियो। पहिलो खेलमा एक सय पाँच रनमै अलआउट भएको पाकिस्तान वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो।

सम्बन्धित् समाचार