सरकारले प्रतिबन्धित गरेको नेकपाका महासचिव नेत्र ब्रिकम चन्द (बिप्लब) को घर रहेको शिवराज नगरपालिका वडा नम्बर ९ भगवानपुर नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा दुई दिने जन स्वास्थ्य शिवीर चलाईएको छ । शहिद स्मृती प्रतिष्ठान नेपाल शिवराज कपिलवस्तुको आयोजना तथा बिप्लब पुत्र प्रकाश चन्द महासचिव रहेको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको प्राबिधिक सहयोगमा निशुल्क जनस्वास्थ्य शिवीर सम्पन्न गरिएको हो । शिवीरमा शिवराज नगरपालिका र बिजयनगर गाँउपालिकाका २ हजार ६ सय ४७ जना नागरिकले उपचार सेवा पाएका छन । चितवन मेडिकल कलेजमा चिकित्सा शास्त्र संकायमा अध्ययनरत चन्दले अहिले हाडजोर्नीमा ईन्टर्न गरि रहेका छन । चन्दको अगुवाईमा भगवानपुरमा चितवन मेडिकल कलेजका चिकित्सक सहितको ३८ स्वास्थ्यकर्मीको टोलीले शिविरमा स्वास्थ्य उपचार सेवा प्रवाह गरेको थियो । शिविरमा उपचारका लागी बिप्लब पुत्र प्रकाश आफै खटिएका थिए । शिविरमा महिला तथा प्रसुती, हाडजोर्नी, छाला रोग, सामान्य औषधी, दन्त सेवा, नाक कान घाटी, युएसजी प्रयोगशाला सेवा, फार्मेसी सहितको ९ वटा बिभागका सुबिधा दिईएको थियो । शिबिरमा उपचारका लागी आएकी शिवराज नगरपालिका ९ कि भवानी घिमिरेले आफनै गाँउ ठाँउमा दक्ष स्वास्थ्यकर्मी सहितको शिवीर सञ्चालन हुदाँ खुसी लागेको बताईन । उनले हाल सो साविकको शिवगढीमा यति ठुलो संख्यामा स्वास्थ्यकर्मी आई शिवीर नलागेको जानकारी दिदै हिजो देखी उपचार गर्न आए पनि पालो नपाएको बताईन । “यति धेरै संख्यामा सुबिधा सहितका डाक्टर गाँउमा आएको पहिलो पटक हो । हिजो पनि आएकी थिए, पालो पाईएन । आज पनि पानी पर्दा छाता ओढेरै कुर्नेको लाम छ ।” उनले भनिन । उनी जस्तै सोहि वडाको मगरगत्ताका चन्द्र बहादुर सुनारले गाँउमै डाक्टर र औषधी पाउदाँ खुसी लागेको बताए । उनी जस्तै अन्य सेवाग्राही समेत गाँउमै नेकपा महासचिव बिप्लवका छोराको पहलमा ठुलो संख्यामा स्वास्थ्यकर्मी आई उपचार सेवा दिदा सुबिधाको अनुभुती भएको बताउदै थिए । राज्यले हरेक क्षेत्रमा उपेक्षा गरेको साविकको शिवगढीमा सामान्य उपचार सेवा नपाएकै कारण शिवीरमा सेवा लिने सेवाग्राहीको भिड लागेको उपचारका लागी आएका बिजयनगर गाँउपालिका ४ का सुवास कुमार जिएमले आरोप लगाए । प्रचार प्रसार बिना आयोजना गरिएको जनस्वास्थ्य शिवीरमा ठुलो संख्यामा सेवाग्राही सेवा लिन आउनुले सो क्षेत्रमा सामान्य उपचार सेवा समेत प्रवाह नभएको प्रष्टिएको बताउदै भविष्यमा समेत यस्तै शिवीरको आयोजना आवश्यक रहेको उनले बताए ।
नागरिकको स्वास्थ्यमा उपचारमा चासो नदेखाईएको भेटिए पछि महासंघले जनशक्ति, सामाग्री र औषधीमा सहयोग गरि जनस्वास्थ्य शिविर चलाएको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव तथा नेत्र ब्रिकम चन्द (बिप्लब) पुत्र प्रकाश चन्दले बताए । नागरिकले न्युनतम स्वास्थ्य सेवा नपाएकै कारण सोचे भन्दा बढि बिरामीले उपचार लिएको उनको तर्क थियो । शिवीरका उपचार गराउन सक्ने आर्थिक अवस्था नभएका एक १० बर्षिय बालकलाई फेसियल प्यालेसी र अन्यमा छालाको संक्रमण, हाडजोर्नीका समस्या र अन्य जटिल स्वास्थ्य समस्या देखिएको बताए । गाँउमा स्वास्थ्यको अवस्था जटिल हुदाँ समेत नगरपालिका र स्वास्थ्यचौकीले जानकारी नपाउनुले नागरिकलाई राज्य कहाँ छ ? भन्ने अनुभुती गराएको उनको भनाई थियो । राज्य र स्थानिय तहले समृद्धिको फोस्रा नारा लगाएरै स्वास्थ्यको बजेटमा भ्रष्टाचार र चरम दुरुपयोग गर्दै आएको उनको आरोप थियो । “नागरिकलाई राज्यले न त सामान्य दुखाई हटाउने औषधी नत सामान्य एन्टिबाईटिक नै उपलब्ध गराउन सकेको छ । अरु त अरु स्वास्थ्यमा ठुलो लगानी गरिएको भनिए पनि नागरिकलाई सामान्य स्वास्थ्य बारेको चेतना समेत भएको अवस्था छैन । ” चन्दले भने । “समृद्धिका गफ चुटने नगरपालिका क्षेत्रको हालत त यस्तो छ । दुरदराज भनिएका कालिकोट र जुम्लामा राज्यले प्रवाह गरेको भनिएको स्वास्थ्यको सेवा कस्तो होला ?” चन्दले प्रतिप्रश्न गरे ।