जिल्लाका बिभिन्न स्थानका खाद्य व्यवसायीलाई खाद्यान्न खरिद गरि दिएको करोडौको चेक बाउन्स भएर चर्चामा आएको कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोड गाँउ स्थित कपिलवस्तु मल्टी एग्रो ईण्डस्ट्रीज प्रा.लि. मा शिलबन्दी गरिएको छ । सोही वडाका भिम पौडेल सहितका व्यक्ति सञ्चालक रहेको सो प्रा.लि मा जिल्ला अदालत कपिलवस्तुबाट डोर खटिई गएको टोलीले कपिलवस्तु जिल्ला अदालतको तहसिल शाखाका तहसिलदार लेषनाथ अर्यालबाट २०७६ असार १ गते दिएको बिगो कोर्ट सम्बन्धि मुद्दाको आदेशानुसार प्रालिमा शिलबन्दी गरिएको हो । कार्यबाहक वडा अध्यक्ष नाथुराम चौधरी रोहबरमा साविक मोतीपुर ४ (ख) को कित्ता नम्बर ३५४ को १ बिगाहा २ कटठा २ धुर क्षेत्रफलमा रहेको प्रालिको राईसमिल पलान्ट, गोदाममा नौ वटा ताला लगाई शिलबन्दी गरिएको हो । यस अघि कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरा स्थित न्यु पुजा खाद्य उद्योगका सञ्चालक तौलन बनियाले जिल्ला अदालत कपिलवस्तुमा प्रा.लि सञ्चालक भिम पौडेल र इन्द्रमणी पौडेल बिरुद्ध ६ वटा चेक अनादर र लेनदेनका मुद्दा दिएका थिए । ६ वटा चेक अनादरका मुद्दामा जिल्ला न्यायाधिस भरतमणी खनालको ईजलासको फैसला अनुसार सो मुद्दामा बनियाले कुल सावा रकम १ करोड ७८ लाख ८० हजार २ सय ९९ रुपैया ५० पैसा सो ब्याज समेत भरि पाउने ठहर भएको थियो । २०७५ साल पुस ९ गतेको फैसलाले प्रस्तुत गरे अनुरुप उद्योगका सञ्चालकहरु रहेका प्रतिबादीहरुका नामको ३५ दिने सुचना दिदा समेत बिगो दाखेल गर्न नल्याए पछि प्रतिबादीहरुको नाममा चल अचल सम्पत्ती रोक्का गरीएको थियो । बादी बनियाले प्रतिबादीहरु र कानुनी व्यक्ति उद्योग समेतबाट आर्थिक कारोबार गर्न नपाउने गरि उद्योग, गोदाम, धर्मकाटा लगायतमा शिलबन्दी गरि आफनो बिगो बापतमा अदालतको कब्जामा राख्नका लागी दिएको निबेदनका आधारमा सो शिलबन्दी गरिएको हो । बादी बनियाको माग अनुरुप बादीको बिगो भराई दिन प्रतिबादीहरुको उद्योग, गोदाम लगायतको चल अचल सम्पत्तीमा शिलबन्दीको आदेश अनुरुप शिलबन्दीको कार्य सम्पन्न भएको जिल्ला अदालत कपिलवस्तुको तहसिलदार लेषनाथ अर्यालले जानकारी दिए ।
यस अघि बुटवव टुडे राष्ट्रिय दैनिकले न्यु पुजा खाद्य उद्योगका सञ्चालक तौलन बनिया सहितका १४ व्यवसायीहरु सो प्रालिबाट ठगिएको बिषयमा २०७५ बैशाख १० गतेको बुटवल टुडे राष्ट्रिय दैनिकमा “करोडौंको चेक अनादर” शिर्षकको समाचार प्रमुखताका साथ प्रकाशित गरेको थियो । समाचार प्रकाशन अघि जिल्लाका १४ व्यवसायीले आफुहरुले पाउनु पर्ने ५ करोड ९२ लाख ४६ हजार दुई सय रुपैया रहेकोेमा प्रालिद्धारा सम्बन्धित फर्मका नाममा दिएको ३ करोड ३२ लाख ३७ हजारको चेक अनादर (बाउन्स) भएको बताएका थिए । कपिलवस्तु मल्टी एग्रो ईन्ड्रष्टिज प्रा.लि.का सञ्चालकले दिएको नेपाल ईन्भेष्टमेन्ट बैङ्क भैरहवा शाखाको खाता नम्बर ०१००१०३०२५४८५४ को चेकहरु अनादर भएका थिए । ।