गृहपृष्ठ Featured तौलिहवा–लुम्बिनी–भैरहवा सडक धुलाम्मे, पर्यटक र स्थानीयलाई सास्ती

तौलिहवा–लुम्बिनी–भैरहवा सडक धुलाम्मे, पर्यटक र स्थानीयलाई सास्ती

प्रकाशित मिति:

प्रदेश ५ सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा घोषणा गरेका छ । गत बुद्ध पूर्णिमामा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भ्रमण वर्षको औपचारिक उदघाटन गरिन ।प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षमा सबैभन्दा ठूलो चुनौतीको रुपमा निर्माणाधिन भैरहवा–तौलिहवा सडक रहेको छ । लुम्बिनी पुग्ने पर्यटकको सबै भन्दा बढी प्रयोग हुने यो सडक अहिले धुलैधुलो भएको छ । धुलो र निर्माणाधिन बाटोको कारण लुम्बिनी जाने आन्तरिक र बाह््रय पर्यटक सास्ती खेप्न बाध्य भएका छन ।

शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धारको रुपमा रहेको छ ,भैरहवा । भैरहवाबाट लुम्बिनीतर्फ लाग्ने बित्तिकै लुम्बिनी आउने पर्यटकलाई धुलोले स्वागत गरिरहेको हुन्छ । भैरहवाको लुम्बिनी गेटबाट सुरु हुने यो धुलो लुम्बिनी सम्म मात्र नभइ गौतमबुद्धको गृह नगर तौलिहवा सम्म उस्तै रहेको छ । सानो गाडी, मोटरसाइकल र स्कुटीमा लुम्बिनी जाने पर्यटक त लुम्बिनी सम्म पुग्दा चिन्नै नसक्ने अवस्थामा पुगेका हुन्छन् ।

भैरहवा तौलिहवा जोडने सडकको स्तरोन्नति गर्ने कार्य लक्ष्य अनुसार हुन नसक्दा पर्यटकले सास्ती खेप्नुपरेको छ । साथै प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्षको लक्ष्य पनि धरापमा परेको छ । सडक सुधार आयोजना भैरहवा–लुम्बिनी– तौलिहवा सडक परियोजनाको काम प्रारम्भिक काम द्रुत गतिमा अगाडी बढेको भए पनि अहिले लक्ष्य अनुसार काम हुन सकेको छैन ।

लक्ष्य अनुसार काम भएको भए अहिले सम्म उक्त सडक खण्डको ५० प्रतिशत काम सम्पन्न हुनुपर्नेमा ३५ प्रतिशत मात्र सकिएको छ । भैरहवा देखि तौलिहवा सम्मकै सडकखण्डमा ठेकेदार कम्पनीले खनेको कारण सडकभरी धुलैधुलो छ । नदीजन्य पदार्थको अभाव तथा तौलिहवातिर आएको केही अवरोधका कारण लक्ष्य अनुसार काम नभएको भैरहवा–लुम्बिनी–तौलिहवा सडक परियोजनाका परियोजना प्रमुख प्रदिपराज शाक्यको दावि छ ।

सडकको प्रारम्भिक चरणको काम द्रुत गतिमा सुरु गरेको भारतीय ठेकेदार कम्पनी गवांर कन्सट्रक्शनले यो सडकखण्डको सम्पूर्ण कल्भर्टहरुको निर्माण कार्य सम्पन्न गरिसकेको छ । जुलाई २०१७ देखी सुरु भएको उक्त योजना २०२० को जनवरी सम्म पुरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । नदीजन्य पदार्थको समयमै आपूर्ति भए र अन्य कुनै बाधा नआए उल्लेखित समयमै परियोजना पुरा हुने आयोजनाको दावी रहेको छ ।

परियोजना निर्धारित समयमै पुरा हुने र सो को लागी अझै करिब ७ महिनाको समय भए पनि ठेकेदारले धुलो व्यवस्थापन गर्न नसक्दा भने स्थानीयको साथै पर्यटकले सास्ती खेप्नुपरेको छ । धुलोकै कारण अहिले सम्म सो सडकखण्डमा कतिले ज्यान समेत गुमाइसकेका छन् । यता परियोजना प्रमुख प्रदिपराज शाक्यले भने धुलो व्यवस्थापनमा गर्मीको मौसम चूनौतीपूर्ण रहेको बताए । उनले धुलो व्यवस्थापन गर्नलाई मात्रै रुपन्देहीतर्फ ६ वटा र कपिलवस्तुतर्फ ४ वटा टंयाकरले नियमित पानी हाले पनि गर्मीको कारण धुलो व्यवस्थापनमा समस्या भएको बताए ।

भैरहवाको बुद्धचोक देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चोक सम्मको सडकलाई स्तरोन्नती गरी ६ लेनको बनाइदैछ भने एयरपोर्ट चोक देखि बुद्ध जन्मस्थल लुम्बिनीको पर्सा चोक सम्म ४ लेनको बनाउन लागिएको छ । भैरहवा देखि लुम्बिनी सम्मको सडक अहिले २ लेनको रहेको छ । त्यसै गरी लुम्बिनी देखि कपिलवस्तु तौलिहवा सम्मको सडक २ लेनको बनाइदैछ । उक्त सडक अहिले १ लेनको रहेको छ । यो सडकको लम्बाई ४१ दशमलव १३० किलोमिटर लामो रहेको छ । ६ लेन सडकको बीच भागमा ‘ग्रिन वेल्ट’, दूई दूई लेनको सडक र दायाँबायाँ एक एक सर्भिस लेन सहितको ‘फुटपाथ’ समेत निर्माण गरिने जनाइएको छ । श्रोत : नागरिक न्यूज

सम्बन्धित् समाचार