गृहपृष्ठ Featured इराकमा नेपालीद्वारा नेपालीको हत्या।।

इराकमा नेपालीद्वारा नेपालीको हत्या।।

प्रकाशित मिति:

इराकको स्वप्रशासित राज्य कुर्दीस्थानको अर्विलमा बर्दीयाका विशाल पौडेलले देवदह नगरपालिका–९, रुपन्देहीका ३७ वर्षीय मीनबहादुर सुनारलाई चक्कु प्रहार गरी हत्या गरेका छन् ।एउटै कोठामा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा झगडा हुँदा पौडेलले सुनारको घाँटीमा चक्कु प्रहार गरेका थिए । प्रहरीले पौडेललाई पक्राउ गरेको छ ।

इराक मामिला हेर्ने कुवेतस्थित नेपाली दूतावासले सुनारको शव नेपाल पठाउनको लागि अनुमति दिइसकेको छ । तर, शव पठाउन लाग्ने आवश्यक खर्च जुट्न सकेको छैन । प्रवासी नेपाली समाज, इराकका अध्यक्ष कमल वाइवाले शव पठाउनको लागि नेपालीबीच चन्दा संकलन भइरहेको बताए । शव पठाउन झन्डै ३ हजार डलर खर्च हुन्छ ।

मीनबहादुरका सहोदर पदमबहादुरका अनुसार उनी दुबईबाट कुर्दीस्थान गएका थिए । ‘चार वर्षदेखि दुबईमा काम गर्दै आएका थिए । गाडी चलाउने काममा चार महिना अगाडि मात्रै कुर्दीस्थान पुगेका थिए,’ उनले भने, ‘चक्कु हान्ने मान्छे र भाई एउटा कोठामा बस्दा रहेछन् । त्यो मान्छेले पहिला पनि चक्कु देखाएकै कारण होटलबाट निकालिएको रहेछ । सानो विवादमा मेरो भाइको ज्यान गयो ।’

मीनबहादुरकी श्रीमतीले दोश्रो बिहे गरिसकेकी छिन् । उनको ६ वर्षको छोरा पदमबहादुरसँगै बस्छन् । ‘घर बनाउँदै थिए । पिल्लर हालेका थिए । यो घर सक्न अन्तिम पटकको लागि भन्दै इराक गए । इराकमै उनको सपना लुटियो,’ उनले भने, ‘हामीमाथि ठुलो आघात आइपर्‍यो ।’

उनले शव आउन ढिलाई भएको बताए । ‘आज भोली भन्दाभन्दै शव कुरेको महिना दिन भइसक्यो । के के प्रक्रिया पुरा गर्नुपर्छ भनिरहेका छन्,’ उनले भने, ‘हामीले दिनहुँ जसो इराकमा फोन गरिरहेका छौं ।’

सम्बन्धित् समाचार