गृहपृष्ठ Featured क्लिन फिड विवाद : समर्थन र विरोधमा बहस 

क्लिन फिड विवाद : समर्थन र विरोधमा बहस 

प्रकाशित मिति:

 

खरीबोट

काठमाडौं । राष्ट्रिय सभामा पेस भई पास भई सकेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ भित्र व्यवस्था गरिएको क्लिन फिड लागु गर्ने विषयलाई लिएर अहिले विवाद बढेको छ ।

क्लिन फिडको मुद्धा वर्तमान सरकारले मात्र उठाएको भने पटक्कै होइन, यसको मतलब यसअघिका सरकारहरुले पनि क्लिन फिडको मुद्धालाई उठाएका थिए । तर त्यसलाई लागु गर्न सकेनन् । वर्तमान सरकारले पुनः एकपटक क्लिन फिडको मुद्धा उठाई त्यसलाई लागु गर्ने तयारी गरेको छ । तर यस क्लिन फिड लागु गर्न सरकार कानुन बनाएर एक कदम अगाडी बढ्दै गर्दा केबुल व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् भने सरकारले तत्काल कसरी क्लिन फिड लागु गर्छ भन्ने विषयमा कौतुहलता पैदा भएको छ ।

क्लिन फिडको पक्षमा यसअघि नै सरकारका विभिन्न निकाय, विज्ञापन व्यवसायी तथा कलाकार अगाडी आएका छन् । यसपटक पनि सो विषयमा कलाकारहरुले सबैभन्दा पहिला समर्थन देखाए । चर्चित कलाकार हरिवंश आर्चाय, दीपकराज गिरीले सरकारको क्लिन फिड लागु गर्ने विषयमा खुलेरै प्रशंसा गरे । जसमा अन्य कलाकार तथा नागरिकहरुले समर्थन जनाएका छन् ।

उनीहरुले सामाजिक सञ्जाल फेसबूक मार्फत सरकारले विज्ञापनसम्वन्धी विधेयकमा क्लिन फिड लागु गर्ने विषयमा प्रसंशा गर्दै सरकारको सो कदमलाई समर्थन र स्वागत गरेको बताए । यस्तै नेपाल पत्रकार महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै क्लिन फिडको व्यवस्था गरेकोमा सरकारलाई धन्यवाद व्यक्त गरे ।

कलाकार आचार्यले आफू र मदनकृष्ण श्रेष्ठको तस्बिर राख्दै फेसबूकमा लेखेका छन् ,‘ नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापनलाई रोक्ने र विज्ञापन रहित विदेशी च्यानल प्रशारण गर्ने नेपाल सरकारले क्लिन फिड योजना लागू गर्न खोजेको छ । यसको विरोधमा टेलिभिजन च्यानलका बिक्रेताहरुले २४ घण्टा विदेशी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । के यो विरोधले हामीलाई केहि असर गर्छ ? हामी नेपालीले २४ घण्टा विदेशी च्यानल हेर्न नपाउँदा हामीलाई केहि असर पर्छ ? नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु बिज्ञापन रहित हुनु हाम्रो लागि राम्रो हैन र ? यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिक सहित नेपाली बिज्ञापन उद्योग सबैको हित हुनेछ । एक पटक हैन पटक पटक सोचौ । नेपाल सरकारको यो हिम्मतीलो निणर्यमा हाम्रो साथ छ । समर्थन छ । जय नेपाली बिज्ञापन । जय नेपाली कलाकार । जय नेपाली प्राबिधिक ।’

यस्तै दिपक राज गिरीले लेखेका छन्, ‘हामिले गाँउको महका चाका छोडेर डावर हनि खान थालेको धेरै भो .. नेपाली जुत्ता, नेपाली खाना, नेपाली मनोरन्जन को स्थान अहिले बिदेशी ब्रान्डले लिएका छन् .. कारण गुणस्तर मात्रै होइन..बिदेशी टेलिभिजनमा आउने बिज्ञापनको असर पनि हो …,,अतः सरकारले लिएको क्लिन फिडको निर्णय सहि छ , समर्थन छ !!! ’

बिदेशीलाइ हाम्रा देशमा घुम्न बोलाउने हो यहि स्थाइ बसोबास गराउने होइन त्यस्तै बिदेशी टेलिभिजन लाइ पनि नेपालमा स्वागत गर्नु पर्छ … उनिहरूको ब्रान्ड प्रमोशन गर्ने बिज्ञापनलाई होइन….. राष्ट्रीयता ,झन्डा बोकेर मात्रै हुदैन.!!

के भन्छन् व्यवसायी ?

सरकारले जबर्जस्ती क्लिन फिड लागु गर्न खोजेकको भन्दै इन्टरनेट तथा केवल टिभी सेवा प्रदायक समन्व समितिले त्यसको विरोध जनाए । विरोधस्वरुप उनीहरुले गत सोमबार ३ बजेदेखि २४ घण्टा विदेशी टिभी च्यानल बन्द गरिदिए । व्यवसायी तथा समितिले आफूहरु क्लिन फिडको विपक्षमा नरहेको बताएका छन् ।

केवल टेलिभिजन महासंघले पत्रकार सम्मेलनको क्रममा सरकारले ल्याउन लागेको क्लिन फिड सम्वन्धि कानुन (विज्ञापन सम्वन्धी कानुन) व्यवसायी र उपभोक्ता दुवैको पक्षमा नरहेको बताएको छ ।

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले क्लिन फिड दिन विदेश च्यानलहरु तयार नभएको भन्दै यो लागु गर्न नसकिने बताए । इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले सरकारले राष्ट्रिय प्रसारण सम्बन्धी व्यवस्थामा राखिनुपर्ने प्रावधान विज्ञापन सम्बन्धी विधेयकमा राखेको र सरोकारवालालाई जानकारी नदिएको बताए ।

व्यवसायीहरु भने क्लिन फिड लागु हुदाँ नेपालीहरुले मनपर्ने च्यानलहरु हेर्न नपाउने हुदाँ क्लिन फीड लागु गर्न सम्भव नहुने बताँउछन् भने क्लिन फिड लागु हुदाँ खुल्ला सीमाका फाइदा उठाई भारतीय डिटिएचका सेट अप बक्सहरु अवैध रुपमा नेपाल भित्रिन गई देशैभरी छ्यापछ्याप्ती रुपमा जडान हुने र त्यसमा आउने च्यानलहरुमा नेपाली च्यानलहरु समावेश नहुने हुदाँ नेपाल च्यानलहरुको समेत दर्शकहरु घट्न गई उनीहरु पाउने विज्ञापनमा भारी गिरावट हुन जाने बताँउछन् ।

क्लिन फिड लागु हुदाँ नेपालका टेलिभिजन व्यवसाय पनि संकटमा पर्ने उनीहरुको तर्क छ । उनीहरुले यस व्यवसाय सञ्चालन गर्दै आएकाहरुका अबौं रुपैयाँ समेत डुब्ने तर्क गरेका छन् । यी विषयहरुलाई नजरअन्दाज गर्दै व्यवसायीहरुले डेमो स्वरुप गत सोमबार २४ घण्टाका लागि च्यानल बन्द गरे ।

 के छ विधेयकमा ? 

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा भनिएको छ, विज्ञापन रहित प्रकाशन वा प्रसारण गर्नु पर्ने : नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नु पर्नेछ । विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइने छैन ।
सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सो विधेयकलाई राष्ट्रिय सभाले पारित गरिसकेको छ । अब सो विधेयक प्रतिनिधि सभामा जान बाँकी रहेको छ ।

के हो क्लिन फिड ? 

क्लिन फिड लागु हुनु भनेको विज्ञापनरहित टेलिभिजन च्यानल प्रसारण हुनु हो । यो लागु सँगै दर्शकले विज्ञापनरहित टेलिभिजन च्यानलका कार्यक्रमहरु हेर्न सक्छन् । हाल नेपालमा प्रसारण भइरहेका विदेशी च्यानलहरुले निःशुल्क विज्ञापन बजाइरहेका छन् क्लिन फिड नीति लागु भएमा विदेशीले सो गर्न पाउने छैनन् । हाल विदेशी च्यानलसँगै आउने विज्ञापन नेपाली दर्शकले हेर्नुपर्ने बाध्यात्मक स्थिति रहेको छ भने उनीहरुको बजार व्यवसाय समेत फस्टाँउदै गएको छ ।

यस अघि सरकारले २०७४ साउन १ गतेदेखि नेपालमा हेरिने विदेशी च्यानलको हकमा विज्ञापनरहित टेलिभिजन प्रसारण टेलिभिजन प्रसारण गर्न क्लिन फिड लागू गर्ने भने पनि सरकार सो निर्णयबाट तत्कालका लागि पछि हटेको थियो ।

सम्बन्धित् समाचार