नगर उपप्रमुख लक्ष्मी गुप्ताले गैर जिम्मेबार व्यवहार देखाएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले आरोप लगाएका छन । कपिलवस्तु नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सिंहले उपप्रमुख गुप्ताले नगरकार्यपालिकाको बैठकको निर्णय अनुसार असार १० गते आयोजना गरिएको निती तथा कार्यक्रममा अनुपस्थिती देखाएर गैर जिम्मेबारीपुर्ण व्यवहार देखाएको बताए । नगर कार्यपालिका बैठकको निर्णय अनुसार आयोजना गरिएको निती तथा कार्यक्रममा अन्य दलबाट जितेका प्रतिनिधीले पुर्ण सहयोग गर्दा समेत नगरको बिकास क्रममा सहयोग पुर्याउने कार्यक्रममा उपप्रमुख अनुपस्थित हुनु गैर जिम्मेबार कदम भएको उनको तर्क थियो । कार्यक्रममा घरमा पुजा रहेको भन्दै अनुपस्थित उपप्रमुखले केहि सञ्चार माध्यमलाई दिएको निती कार्यक्रम बहिष्कार गरेको भनि दिएको बयानले नागरिकमा भ्रम सिर्जना गरेको उनको भनाई थियो ।
केहि सञ्चार माध्यमले कार्यक्रममा उपस्थित नै नभएकी उपप्रमुखको गत बर्षको हिउदे अधिबेशनको तस्विर प्रयोग गरि नागरिकलाई भ्रम पार्ने गरि समाचार संप्रेषण गरेको बताउदै सञ्चार माध्यमलाई सहि समाचार संप्रेषण गर्न उनले आग्रह गरे । आफुले हैकम चलाएर उपप्रमुखको अधिकार खोसेको भनि गरिएको समाचार संप्रेषणमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै ऐन र निती नियमका दायरामा सबै बस्नु पर्नेमा प्रमुख सिंहले जोड दिए । न्यायिक समितीका सदस्य दुर्गेश पाण्डेयले सञ्चार माध्यम मार्फत सञ्चार माध्यमलाई पुरानो फोटो र गलत सुचना उपलब्ध गराईएको दाबी गर्दैै यस्ता भ्रमपुर्ण समाचार सम्प्रेषण गराउनेहरुको न्याय संपादनमा समेत प्रश्नचिन्ह खडा हुन सक्ने उनको तर्क थियो ।